राजनीति

मंसिर १५ देखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । सर्वोच्च अदालतमा अब गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले करिब एक साताको समय राखेर मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको हो ।

बिहीबार अपरान्ह बसेको फुलकोर्ट बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गरेर गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी भएर बस्ने फुलकोर्ट बैठकले प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम् न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाटै पेसी तोक्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उभिएका असन्तुष्ट न्यायाधीशहरुले तीन सातापछि गत बुधबार फुलकोर्ट बैठक राखेर सर्वोच्च अदालत नियमावली संशोधन गरेका थिए ।

कमेन्टहरु