नेपालगन्ज विमानस्थलमा बुद्ध एयरको जहाज स्यालसँग ठोक्किँदा सामान्य क्षति

जगत ठाडा मगर
२०७८ मंसिर ९ | मध्यान्ह ०१:०८ बजे

बाँके । बुधबार काठमाडाैंबाट नेपालगन्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाज नेपालगन्ज एयरपोर्टमा अवतरणको क्रममा स्यालसँग ठोक्किँदा सामान्य क्षति भएको छ ।
नेपालगन्ज एयरपोर्टका प्राविधिकहरूको सूचनाको आधारमा बुद्ध एयरको ‘४०७ ९ एनएजेएक्स’ कल साइन भएको जहाज नेपालगन्ज एयरपोर्टमा बेलुका ७ः०५ मा अवतरणका क्रममा रन–वेमा दौडिरहेको अवस्थामा जहाजको पांग्रामा स्याल ठाेक्किएको हो ।
जहाजमा रहेका चालक दलसहित सबै यात्रु सकुशल रहेको र जहाजमा पनि कुनै ठूलो क्षति नभएको विमानस्थल स्रोतले जनाएको छ । दुई हप्ताअघि मात्र नेपालगन्जबाट मुगु जाँदै गरेको सीता एयरको ट्विनअटर जहाजमा तीनवटा बँदेल ठोक्किएका थिए ।
नेपालगञ्ज विमानस्थलमा यस्तो किसिमको दुर्घटना बारम्बार दोहोरिएका कारण सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने कम्पनीले बताएको छ ।






















