कर्णाली प्रदेशका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न


कर्णाली । नेपाली काँग्रेसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ। काँग्रेसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो। यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ। काँग्रेसले कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो।
जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा पे्रमप्रकाश ओली, कालीकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुुगुमा ऐनबहादुर शाही सभापति पदमा चयन भएका छन्। कर्णालीका सबै जिल्लामा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुङ्गो लागिसकेको छ।
कांग्रेस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले शुक्रबार सात पदाधिकारीसहित जिल्ला कार्य समितिका सदस्य चयन हुने बताए। उनका अनुसार सभापति एक, उपसभापति, सचिव, सहसचिव दुई/दुई जना, भूगोल, खुला र समावेशी क्षेत्रबाट कार्य समिति सदस्य निर्वाचित भएर आउनुपर्नेछ।
त्यस्तै दैलेखमा पनि शुक्रबार जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ। जिल्ला अधिवेशनपश्चात् यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ। प्रदेश अधिवेशन सम्पन्न गर्न कांगे्रसले यसअघि नै पार्टी केन्द्रीय समितिसमेत रहेका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई संयोजक तोकिसकेको छ। रासस






















