जसपा कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग


जनकपुरधाम, ०८ मंसिर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ ।
कार्यकारिणी समितिको बैठकमा केही सदस्यहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका हुन् । केही दिन अघि पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो ।
मुख्यमन्त्री राउतले बर्खास्त गरेका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो गरे । बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी श्रोतको दाबी छ । उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् ।
बैठकमा नेताहरुले अध्यक्ष यादव पार्टीभित्र एक पक्षीय रुपमा अगाडि बढ्न थालेको भन्दै आलोचना गरेको पार्टी श्रोतको दाबी छ । स्रोतका अनुसार पार्टीभित्र विधि तथा पद्धतिको मजाक उडाइएको नेताहरुको आरोप थियो ।
बैठकमा हिसिला यमी, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा संस्थागत निर्णयबिना अगाडि बढ्ने परिपाटीको विकास हुँदै जानु पार्टीकै भविष्यका लागि घातक हुने बताए ।
जसपा नेतृ हिसिला यमीले पार्टीमा विधि अनुशरणको अभाव देखिएको भन्दै प्रदेश सरकारबाट मन्त्री हटाउने कार्य स्वेच्छाचारिकताको उदाहरण भएको बताइन् । बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेको एक नेताले बताए । जसपाको कार्यकारिणी समितिको बैठक बुधबार समेत जारी छ ।






















