रोनाल्डो र सान्चो चम्किएपछि युनाइटेड नकआउट चरणमा


काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चो चम्किएपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडलाई अन्तिम १६ पुर्याउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बरबरीमा सकिएको थियो ।
रोनाल्डोले ७८औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो । उहाँको यो ब्यवािसयक खेल जीवनको सात सय ९९ गोल हो । त्यसपछि सान्चोले ९०औँ मिनेटमा गोलगर्दै युनाइटेडलाई सजिलै जिताउनुभयो । जितसँगै युनाइटेड समूह ‘एफ’ को शीर्षस्थानमा छ । युनाइटेडले पाँच खेलबाट १० अंक बनाएको छ ।
सात अंक बनाएको भिल्लारियल दोस्रो स्थानमा छ । यसैगरी समूह ‘ई’ को खेलमा बायर्न म्युनिखले डाइनामो किएभलाई २–१ गोलले हराजित गरेको छ । यसअघिनै नकआउट चरणमा स्थान बनाएको बायर्न १५ अंक सहित शीर्षस्थानमा छ ।
पराजित डाइनामो एक अंक सहित अन्तिममा छ । यही समूहको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीसँगै सात अंक बनाएको बार्सिलोना दोस्रो र तीन अंक बनाएको बेन्फिका तेस्रो स्थानमा छ । समूह ‘एच’ को अर्को खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० गोलले हराएको छ ।
एकपक्षीय जितसँगै पाँच खेलबाट १२ अंक बनाएको चेल्सी शीर्षस्थानमा छ । १२ नै अंक बनाएको युभेन्ट्स दोस्रो स्थानमा छ । यस समूहबाट चेल्सी र युभेन्ट्स दुवैले नकआउट चरणमा स्थान बनाएका छन् ।






















