सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु, हनुमानढोकामा उठाइयो लिङ्गो


काठमाडौँ । काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ। इन्द्रजात्राको मुख्य सुरुवाती विधिका रूपमा लिङ्गो उठाएपछि जात्राका विभिन्न कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने गर्छन्। लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरिएको छ।
इन्द्रजात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस अवसरमा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ। हनुमानढोका दरबार क्षेत्र आसपासमा विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु तथा सर्वसाधारणको भीड लाग्ने गर्छ। जात्राका क्रममा हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौँका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ। जात्रामा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत गरिन्छ।
इन्द्रजात्राको अवसरमा हनुमानढोका तथा आसपासका क्षेत्रमा विशेष चहलपहल बढेको छ। स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत जात्राका विभिन्न गतिविधि अवलोकन गर्न काठमाडौँको बसन्तपुर क्षेत्रमा पुगेका छन्।






















