‘ठेक्काको हप्ता’ नदिए ज्यान मा’र्ने धम्की दिँदै रकम असुल्न खोज्ने एकजना युवक पक्राउ


काठमाडौं । ठेक्का काम गरेबापत ‘हप्ता’ नबुझाए ज्यान मार्ने धम्की दिएर रकम असुल्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फोन र म्यासेजमार्फत अश्लील गालीगलौज गर्दै रकम माग गरेको अभियोगमा प्रहरी वृत्त थानकोटको टोलीले उनलाई कलंकीबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा उदयपुरको चौदण्डी गढी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३० वर्षीय भुपाल जंग खड्का रहेका छन्। अदालतबाट पक्राउ पुर्जी लिएर खोजीमा खटिएको प्रहरी टोलीले उनलाई गत असोज २ गते कलंकी क्षेत्रबाटै फेला पारेको हो।
प्रहरीका अनुसार खड्काले ठेक्काको काम गरेबापत रकम दिनुपर्ने भन्दै पीडितलाई बारम्बार फोन र म्यासेज गरी धम्क्याउने गरेका थिए। पैसा नदिए ज्यान लिने चेतावनी दिँदै अश्लील शब्द प्रयोग गरी निरन्तर मानसिक तनाव दिएपछि पीडितले कारबाहीको मागसहित प्रहरी वृत्त थानकोटमा जाहेरी दिएका थिए।
पक्राउ परेका खड्काविरुद्ध आपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटले आवश्यक अनुसन्धान गरिरहेको छ।






















