Opens in a new tab

यातायात

लगातारको वर्षासँगै देशका विभिन्न राजमार्ग प्रभावित

नवलपुर टुडे
२०८३ अशोज ७ | बिहान ०८:०६ बजे
काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा बाढी र पहिरोको जोखिम बढेको छ। नेपाल प्रहरीले काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकखण्डमा अवरोध तथा जोखिम देखिएको जनाएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले असोज ६ गते साँझदेखि बिहानसम्मको अवस्था हेरेर सवारी सञ्चालन गरिने जनाएको छ।

रसुवामा भने मुख्य राजमार्गका विभिन्न स्थानमा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। नुवाकोटको टोक्खा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८, घेचेटखोला क्षेत्रमा पनि बाढी तथा पहिरोको जोखिम रहेको छ। जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै विदुर नगरपालिका–१०, सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, ज्वाङखोला र शीतलबजार क्षेत्रमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ।

प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र बाढी, पहिरो तथा अन्य जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

highway update 7 ashoj 2083

कमेन्टहरु