आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना


काठमाडौं । देशका केही भूभागमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई भूभागनजिक रहँदा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोसी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
मधेस तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।






















