विश्व

वेस्ट बैंकका ७० भन्दा बढी ऐतिहासिक स्थल नियन्त्रण गर्न इजरायलले स्वीकृत गर्‍यो ३ करोड ७० लाख डलर

एजेन्सी
२०८३ साउन २० | मध्यान्ह ०२:०४ बजे

तेल अभिभ । इजरायल सरकारले कब्जामा रहेको वेस्ट बैंकका ७० भन्दा बढी ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरू आफ्नो नियन्त्रणमा लिन करिब ११३ मिलियन शेकेल (झण्डै ३ करोड ७० लाख अमेरिकी डलर) बराबरको बजेट स्वीकृत गरेको छ ।

यो निर्णय मंगलबार सरकारी सञ्चालन समितिले अनुमोदन गरेको हो। यसअघि मे महिनामा पनि वेस्ट बैंक, जोर्डन उपत्यका तथा अन्य क्षेत्रमा रहेका पुरातात्त्विक स्थलहरूलाई इजरायली नियन्त्रणमा ल्याउने उद्देश्यसहित २५० मिलियन शेकेल (करिब ८ करोड ३० लाख अमेरिकी डलर) को योजना स्वीकृत गरिएको थियो ।

समितिका अनुसार बस्ती (सेटलमेन्ट) मन्त्रालयलाई १५७ मिलियन शेकेल प्रत्यक्ष बजेट उपलब्ध गराइनेछ भने थप १४२ मिलियन शेकेल बराबरका परियोजनाका लागि खर्च गर्ने अधिकार पनि दिइनेछ । यसै दिन इजरायली संसद क्नेसेटको वित्त समितिले पनि बस्ती मन्त्रालयका लागि झण्डै ३०० मिलियन शेकेल (करिब ९ करोड ९० लाख अमेरिकी डलर) बराबरको थप बजेट स्वीकृत गरेको छ ।

इजरायलका अर्थमन्त्री बेचालेल स्मोट्रिचले यस निर्णयलाई उच्चस्तरको जियोनिस्ट कार्य भन्दै ऐतिहासिक स्थलहरूमा नयाँ पर्यटक केन्द्र र अनुसन्धान केन्द्र निर्माण गरिने बताएका छन् । उनका अनुसार इतिहास र सांस्कृतिक सम्पदाको संरक्षण इजरायलका लागि महत्त्वपूर्ण छ । तर, प्यालेस्टिनी पक्षले भने यस योजनालाई कब्जा गरिएको भूमिमा इजरायली नियन्त्रण विस्तार गर्ने प्रयासका रूपमा आलोचना गरेको छ । प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार बेथलेहेम नजिक रहेको सोलोमनको पोखरीलगायत ऐतिहासिक स्थलहरू पनि यस योजनाको लक्ष्यमा पर्न सक्नेछन् ।

सन् २०२२ यता इजरायलले आफ्नो कब्जामा रहेको वेस्ट बैंकमा १०४ वटा बस्ती र १६० वटा आउटपोस्ट बनाउने योजना स्वीकृत गरिसकेको बताइएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जामा रहेको वेस्ट बैंकमा इजरायली बस्तीहरू अवैध मानिन्छन् । यसैबीच, प्यालेस्टिनी स्रोतहरूका अनुसार सन् २०२६ को सुरुदेखि हालसम्म वेस्ट बैंकभर इजरायली बस्तीवासी र सुरक्षाकर्मीबाट ११ हजारभन्दा बढी आक्रमण तथा हिंसात्मक घटना भएका छन्, जसले क्षेत्रमा तनाव अझ बढाएको छ ।

कमेन्टहरु