शेख हसिनाको सम्बोधन रोक्न भारतको अस्वीकार, भारतले भन्यो– हाम्रो यसमा संलग्नता छैन


काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा (आज) नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाको कार्यक्रममा अनलाइनमार्फत सम्बोधन गर्ने घोषणा गरेकी छन् । बंगलादेश सरकारले भारतसँग उनको सम्बोधन रोक्न आग्रह गरेको छ ।
भारत सरकारले भने हसिनाको अनलाइन सम्बोधनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा भने, “यो कार्यक्रम एउटा निजी मिडिया संस्थाले आयोजना गरिरहेको हो । भारत सरकारको यससँग कुनै संलग्नता छैन । यस मञ्चमा व्यक्त गरिने कुनै पनि विचारलाई सरकारले समर्थन गर्दैन ।”
बंगलादेश छाडेपछि ५ अगस्ट, २०२४ यता शेख हसिना पहिलोपटक कुनै सार्वजनिक कार्यक्रममा देखिन लागेकी हुन् ।
यो कार्यक्रम फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया (एफसीसीएसए)ले गर्दै छ । एफसीसीएसए नयाँ दिल्लीस्थित पत्रकारहरूको संस्था हो, जसको स्थापना सन् १९५८ मा भएको थियो । हसिना यही संस्थाको कार्यक्रममा भिडियो लिंकमार्फत सहभागी हुने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि ७ः३० बजेसम्म सञ्चालन हुनेछ । बंगलादेशले सोमबार भारतसँग शेख हसिना वा प्रतिबन्धित संगठनसँग सम्बन्धित कुनै पनि व्यक्तिलाई भारतको भूमिबाट राजनीतिक भाषण दिन वा बंगलादेशमा अस्थिरता फैलाउन सक्ने गतिविधि गर्न अनुमति नदिन आग्रह गरेको थियो ।
ढाकाको भनाइमा यदि, कुनै ‘भगौडा’ नेतालाई भारतको भूमिबाट राजनीतिक गतिविधि गर्न अनुमति दिइयो भने त्यसले दुवै देशबीच सुधारिँदै गएको सम्बन्धमा नकारात्मक असर पार्न सक्छ ।
यो विषय सोमबार बंगलादेशका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुँ कबिर र ढाकास्थित भारतीय उच्चायुक्त दिनेश त्रिवेदीबीच भएको भेटवार्तामा पनि उठाइएको थियो ।
शेख हसिनाले किन रोजिन् ५ अगस्ट ?
५ अगस्ट २०२४ कै दिन विद्यार्थी आन्दोलनपछि शेख हसिनाले बंगलादेश छाड्नुपरेको थियो । प्रदर्शनकारीहरू उनको सरकारी निवाससम्म पुगेपछि उनले राजीनामा दिँदै सेनाको विमानमार्फत भारत प्रस्थान गरेकी थिइन् ।
जुन दिन उनले सत्ता छाड्नुपरेको थियो, ठ्याक्कै दुई वर्षपछि सोही दिन उनी पुनः सार्वजनिक रूपमा देखिन लागेकी हुन् । यसै दिनलाई रोजेर उनले आफ्नो राजनीतिक पुनरागमनको सन्देश दिन खोजेको अनुमान गरिएको छ ।
हसिनासँगै उनका छोरा सजिब वाजेद जोय तथा अवामी लिगका अन्य नेताहरू पनि कार्यक्रममा सहभागी हुने बताइएको छ । कार्यक्रममा हसिनाले आफू बंगलादेश कहिले फर्किने भन्नेबारे जानकारी दिन सक्ने अपेक्षा गरिएको छ ।
हालै उनले डिसेम्बर २०२६ मा स्वदेश फर्किएर अदालतसमक्ष उपस्थित हुने योजना रहेको बताएकी थिइन् । स्वदेश फर्किएपछि आफू पक्राउ पर्न सक्ने वा आफ्नो ज्यान जोखिममा पर्न सक्नेबारे आफू जानकार रहेको पनि उनले बताएकी थिइन् ।
आउँदो महिना भारत आउँदै बंगलादेशका प्रधानमन्त्री
शेख हसिना अगस्ट २०२४ देखि भारतमा रहँदै आएकी छन् । बंगलादेशले पटक–पटक उनको सुपुर्दगीको माग गर्दै आएको छ ।
यता, सेप्टेम्बरमा हुने ब्रिक्स सम्मेलनका लागि बंगलादेशका प्रधानमन्त्री तारिक रहमान भारत आउने सम्भावना छ । यस्तो अवस्थामा ढाका भारतको भूमिबाट हसिनाले कुनै राजनीतिक सन्देश दिन नपाऊन् भन्ने चाहन्छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलाई भारत भ्रमणको निमन्त्रणा दिएको छ ।
उनका अनुसार सेप्टेम्बरको सुरुमा नयाँ दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा तारिक रहमानलाई आमन्त्रण गरिएको हो । बंगलादेश हाल बिम्सटेकको अध्यक्ष भएकाले उनलाई सम्मेलनको ‘आउटरिच’ सत्रमा निमन्त्रणा गरिएको छ । इन्डियन एक्सप्रेस






















