बुटवल–नारायणगढ सडक: गुणस्तरमा प्रश्न उठेपछि दाउन्ने–पश्चिम खण्डमा संयुक्त अनुगमन, तत्काल सुधार गर्न निर्देशन


पश्चिम नवलपरासी, असार १३ गते । एसियाली राजमार्ग (एशियन हाइवे) को मापदण्ड र गुणस्तरमा निर्माण गर्ने भनिएको बुटवल–नारायणगढ सडक खण्डको कामप्रति जनस्तरबाट व्यापक गुनासो र प्रश्न उठेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ ।
शनिबार संयुक्त टोलीले पश्चिम नवलपरासीको दाउन्ने पश्चिमदेखि बुटवलतर्फको सडक खण्डमा प्राविधिक तथा व्यावहारिक अवस्थाको मिहिन अनुगमन गरेको हो । अनुगमनका क्रममा राष्ट्रिय गौरवको यस आयोजनाको गुणस्तर, र बजार क्षेत्रमा देखिएका समस्याबारे स्थानीय जनप्रतिनिधि, प्राविधिक र सुरक्षा निकायबीच छलफल भएको छ ।
अनुगमनको गर्दै यस क्षेत्रको प्रतिनिधित्व गर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (संघीय सांसद) बिक्रम खनालले सडक निर्माणका विभिन्न चरणमा गम्भीर प्राविधिक सुधारको आवश्यकता औंल्याउनुभयो । सांसद खनालले भन्नुभयो— ” राष्ट्रको अर्थतन्त्रसँग जोडिएको यो सडक एशियन हाइवेको मापदण्ड अनुसार नै बन्नुपर्छ। अनुगमनका क्रममा कतिपय ठाउँमा सुधार गर्नुपर्ने स्पष्ट देखिएकाले सम्बन्धित निकायले तत्काल मापदण्ड अनुसार काम अघि बढाउनुपर्छ, यसमा कुनै सम्झौता हुँदैन।
बुटवल–नारायणगढ सडक आयोजना (पश्चिम खण्ड) कार्यालयका इन्जिनियर विकास खनालले काममा केही कमजोरी र सुधारका पक्षहरू देखिएको स्वीकार गर्नुभयो । उहाँले अनुगमनका क्रममा भेटिएका प्राविधिक त्रुटिहरूलाई सच्याउन आयोजना कार्यालयको तर्फबाट निर्माण कम्पनीलाई तत्कालै औपचारिक पत्राचार गरिने र काममा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, निर्माण कार्यको सुपरिवेक्षण गरिरहेको कन्सल्ट्यान्ट कम्पनीका इन्जिनियर शशी श्रेष्ठले अनुगमन टोली र जनताको चासोलाई मध्यनजर गर्दै कामको गुणस्तरमा तत्काल सुधार ल्याउने प्रतिबद्धता जनाउनुभयो।
बर्दघाट नगरपालिका उपप्रमुख, रुद्र प्रकाश उपाध्यायले नगरपालिकाले यसको निरन्तर निगरानी गरिरहेको छ। निर्माण कम्पनीले काम मापदण्ड अनुसार व्यवस्थापन नगरे स्थानीय सरकार मूकदर्शक भएर बस्दैन भन्नुभयो— ।”
बर्दघाट नगरपालिकाका संस्थापक नगर प्रमुख,धीर शर्मा बस्यालले “एशियन हाइवेको गुरुयोजना अनुसार नै सुरुवाती सम्झौता बमोजिम काम हुनुपर्छ । दीर्घकालीन टिकाउपनका लागि काममै विशेष ध्यान दिन जरुरी छ, अन्यथा यो अर्बौँको लगानी बालुवामा पानी जस्तै हुने भन्नुभयो ।”
बर्दघाट नगरपालिकाका वडा न. -१४ का वडा अध्यक्ष, भिम काजी गुरुङ्गले सडक खण्डहरूमा ड्रेनेज (नाली) को सही निकास नहुँदा वर्षाको पानी सडकमा जमेर सडक केही भाग दबेर जोखिम बढेको छ भन्नुभयो । ”
बर्दघाट नगरपालिकाका नगर कार्यपालिका सदस्य सुमित्रा ढकालले ” सडक सुरक्षाको अभावमा दुर्घटनाको जोखिम उत्तिकै छ। यसमा निर्माण पक्ष संवेदनशील बन्नैपर्छ भन्नुभयो ।”
अनुगमनका क्रममा सडक चाँडै बिग्रिनु र भासिनुको एउटा मुख्य प्राविधिक कारण समेत सार्वजनिक भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीका अनुसार उक्त सडक खण्डको भारवहन क्षमता मापदण्ड अनुसार बढीमा १० टनसम्म मात्र रहेको छ। तर, हाल उक्त सडकमा क्षमताभन्दा ९ गुणा बढी अर्थात् ९० टनसम्मका ओभरलोड मालवाहक सवारी साधनहरू निर्वाध रूपमा आवतजावत गरिरहेका छन्। यही अत्यधिक भार (ओभरलोड) का कारण निर्माण सम्पन्न भएका वा मर्मत गरिएका नयाँ पिच खण्डहरू पनि छोटो समयमै उप्किने, भासिने र बिग्रिने गरेको प्राविधिकहरूको ठहर छ।
अनुगमन टोलीले ओभरलोड सवारी साधनको नियन्त्रणका लागि ट्राफिक प्रहरी र स्थानीय प्रशासनले तत्काल कडा कदम चाल्नुपर्ने निष्कर्ष निकाल्दै सडकलाई तोकिएकै समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गराउन निरन्तर समन्वय, सहजीकरण र नियमित अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दाउन्ने पश्चिमदेखि बुटवलसम्मको करिब ४८ किलोमिटर सडक खण्डको कुल बजेट करिब ८ अर्ब रुपैयाँ रहेको छ ।
तस्वीर– संयुक्त अनुगमन टोली ।

























