पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए


ढोरपाटन (बागलुङ), जेठ १६। लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ ।
पछिल्लो समय ढोरपाटनको प्रचार व्यापक हुँदा एक\दुई दिन बिदा हुँदा साथ पर्यटक आउने गरेको अध्यक्ष पुनले बताउनुभयो । गत जेठ १२ गतेबाटै सम्पर्क गरेर आएका पाहुनालाई होटल व्यवसायीले राखे पनि अरूले बास पाउन नसकेको उहाँको भनाइ छ ।
ढोरपाटनमा एक रातमा ७०० जना पाहुन राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ । तर त्योभन्दा झन्डै दोब्बर बढी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कँडेलले बताउनुभयो । अरू बेला पनि पर्यटक आइरहेको भन्दै अहिले बिदाले गर्दा एकै दिन हजार बढी पर्यटक ढोरपाटनमा आएको उहाँको भनाइ छ ।
आफूले ८० जना पाहुना राखेको सुनाउँदै २०० जनालाई अन्य होटलमा पठाउनु परेको बताउनुभयो । यतिबेला पर्यटकको भीडभाड हुँदा ढोरपाटनमा मेला लागेजस्तो भएको उहाँको भनाइ छ । आएका पाहुनालाई फर्काउने चाहना नहुँदा नहुँदै पनि फर्काउन बाध्य भएको कँडेल बताउनुहुन्छ ।
पछिल्लो समय बुर्तिबाङ–ढोरपाटन सडक व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । बुर्तिबाङ बजारदेखि करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षसम्म सडकको दूरावस्था थियो ।
गुल्मीबाट शुक्रबार दिउँसो ढोरपाटन घुम्न पुग्नुभएका महेश खड्काले होटल नपाएपछि बुर्तिबाङ बजार झरेर बस्नु परेको सुनाउनुभयो । १३ जनाको समूहमा तीन दिन घुम्ने योजनासहित आएको भन्दै होटलमा बास नपाएपछि एकै दिनमा फर्किनु परेको गुनासो गर्नुभयो । बिहीबार ढोरपाटन पुगेकाहरुले मात्रै होटल पाएको खड्काले बताउनुभयो ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यो याममा बेँसी क्षेत्रमा गर्मी हुने हुँदा ढोरपाटनमा शीतलता खोज्दै धेरै पर्यटक आउने गरेको बताउनुभयो । एकै पटक पर्यटक आउँदा खाना, बस्न र अन्य व्यवस्थापनमा समस्या हुने भन्दै होटल व्यवसायीसँग सम्पर्क गरेर मात्रै ढोरपाटन आउन कायतले आग्रह गर्नुभयो ।






















