नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सीसी क्यामरा जडान गरिने


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सीसी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सीसी क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि क्यामरा जडान गर्न लागिएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । “सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ, स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको यो लगानीको हामी उच्च कदर गर्दछौँ र समस्या समाधानमा प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने ।
हाल चन्द्रागिरि नगरपालिकाभित्र झण्डै ४०० सीसी क्यामेरा जडान गरिएका छन् । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरपालिकाभित्र जडान गरिएका क्यामराको सङ्ख्या थप गरी एक हजार ५०० पुर्याइनुका साथै नगरभित्रको सुरक्षा गर्ने लक्ष्यका साथ सिसि क्यामेरा जडान गर्न नेपाल प्रहरीसँग सम्झौता गरिएको बताए ।






















