ट्रम्पको आलोचना नकार्दै इरानले भन्यो – हाम्रो प्रस्ताव उदार र उचित थियो


तेहरान । अमेरिका–इजरायल युद्ध अन्त्यका लागि आफूले दिएको पछिल्लो प्रस्ताव उचित र उदार रहेको दाबी गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना अस्वीकार गरेको छ ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार आयोजित पत्रकार सम्मेलनमा इरानले पेस गरेको प्रस्ताव केवल राष्ट्रिय हितका लागि नभई सम्पूर्ण क्षेत्र र विश्वको स्थायित्व तथा सुरक्षाका लागि समेत जिम्मेवार र सकारात्मक रहेको बताए ।
इरानले आफ्नो प्रस्तावमा क्षेत्रीय युद्ध अन्त्य, इरानी जहाजमाथि भइरहेको भनिएको समुद्री डकैती रोक्नुपर्ने तथा अमेरिकी दबाबका कारण विदेशी बैंकहरूमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग राखेको जनाएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार प्रतिप्रस्तावमा स्ट्रेट अफ होर्मुजमाथिको आफ्नो सार्वभौमिकता मान्यता दिनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति पनि समावेश गरिएको छ ।
ट्रम्पले प्रस्ताव अस्वीकार गरे पनि इरान आफ्नो राष्ट्रिय हितमा केन्द्रित रहेको बघाइले बताएका छन् । ‘प्रक्रिया जारी राख्ने विषयमा हामीले देखाइसकेका छौं कि सबै अवरोधका बाबजुद पनि हामी इरानको राष्ट्रिय हितमा केन्द्रित छौं । आफ्ना हित सुरक्षित गर्न आवश्यक पर्ने जुनसुकै कदम चाल्न तयार छौं,’ उनले भने ।























