टेक्सासमा मालबहाक रेलको डब्बाभित्र ६ शव भेटिए

एजेन्सी
२०८३ बैशाख २८ | मध्यान्ह ०४:०१ बजे

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा पर्ने दक्षिणी सीमावर्ती सहर लारेडोमा मालवाहक रेलको एक डब्बाभित्र ६ जनाको शव फेला परेको छ । घटना आइतबार स्थानीय समय अनुसार दिउँसो करिब ३ः३० बजेको हो । लारेडो प्रहरी विभागका सार्वजनिक सूचना अधिकारी जोस एस्पिनोजाका अनुसार शवहरू युनियन प्यासिफिकले सञ्चालन गर्ने रेल यार्डमा रहेको एउटा कार्गाे रेलको डब्बाभित्र भेटिएका हुन् । लारेडो प्रहरीका प्रवक्ता जो बेजाले घटनाको कारण अझै स्पष्ट नभएको र अनुसन्धान भइरहेको बताएका छन् ।
घटना भएको दिन लारेडोमा तापक्रम ९० डिग्री फरेनहाइट (करिब ३२–३५ डिग्री सेल्सियस) सम्म पुगेको थियो । तर मृत्युको कारण अत्यधिक गर्मी हो कि होइन भन्ने पुष्टि भएको छैन । रेल कम्पनीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरीसँग मिलेर अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।

















