१ करोड ५० लाख डलर माग्दै गायिका लिपाले हालिन् सामसङविरुद्ध मुद्दा


वासिङ्टन डीसी । पप गायिका दुआ लिपाले दक्षिण कोरियाली विद्युतीय उपकरण निर्माता कम्पनी सामसङविरुद्ध मुद्दा दायर गरेकी छिन् । अनुमति बिना टेलिभिजनको प्याकेजिङमा आफ्नो तस्बिर प्रयोग गरेको आरोप लगाउँदै उनले कम्पनीसँग १ करोड ५० लाख अमेरिकी डलर मागेकी छिन् ।
शुक्रबार अमेरिकाको क्यालिफोर्नियाको जिल्ला अदालतमा दायर गरिएको मुद्दाअनुसार सामसुङले अमेरिकाभर बिक्री गरिएका विभिन्न टेलिभिजन मोडलका बक्समा दुआ लिपाको अनुहार भएको तस्बिर अनुमति बिना प्रयोग गरेको छ ।
कानुनी दस्तावेजअनुसार उक्त तस्बिर सन् २०२४ मा अष्टिन शहरान लिमिट्स पर्वमा गरिएको प्रस्तुति क्रममा खिचिएको थियो र त्यसको कपिराइट दुआ लिपाकै स्वामित्वमा रहेको दाबी गरिएको छ ।
दुआ लिपाले सन् २०२५ जुनमा मात्रै आफ्नो तस्बिर सामसुङका टिभी बक्समा प्रयोग भएको थाहा पाएको मुद्दामा उल्लेख छ । त्यसपछि सामाजिक सञ्जालमा प्रशंसकहरूले दुआ लिपा टिभी बक्स भन्दै पोस्टहरू गर्न थालेका थिए ।
मुद्दामा इन्स्टाग्रामका केही कमेन्ट पनि उल्लेख गरिएका छन्, जहाँ प्रयोगकर्ताहरूले दुआ लिपाको तस्बिर भएकै कारण टिभी किन्न चाहेको प्रतिक्रिया दिएका थिए । दुआ लिपाको कानुनी टोलीका अनुसार सामसुङलाई पटक–पटक ‘उल्लङ्घन रोक्न’ आग्रह गरिए पनि कम्पनीले त्यसलाई बेवास्ता गरेको थियो ।
दुआ लिपाले यसअघि पुमा, भसार्चीजस्ता ब्रान्डसँग व्यावसायिक साझेदारी गरिसकेकी छन् । उनले एप्पल, पोर्श र शनेललगायत ब्रान्डसँग पनि सहकार्य गरेकी छिन् । हालै उनी नेस्प्रेस्सोकी ग्लोबल एम्बेसेडर बनेकी छिन् । उनको पछिल्लो एल्बम र्याडिकल अप्टिमिजम सन् २०२४ मा सार्वजनिक भएको थियो ।






















