प्रबास

इन्धन र सुनको खपत घटाउन भारतीय प्रधानमन्त्री मोदीको अपिल

एजेन्सी
२०८३ बैशाख २८ | बिहान ०८:०१ बजे

नयाँ दिल्ली,वैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान विश्व परिस्थितिमा पेट्रोल, ग्यास र डिजेलको प्रयोगमा कटौती गर्नुपर्ने बताएका छन्।आइतबार हैदरावादमा आयोजित भारतीय जनता पार्टीको र्‍यालीलाई सम्बोधन गर्दै मोदीले छिमेकमा जारी युद्धका कारण विश्वभर इन्धनको मूल्य कैयौँ गुणा बढेको र त्यसको ठुलो असर भारतमा परेको उल्लेख गरेका हुन्।

भारतसँग तेलका ठुला कुवाहरू नभएकाले यो वैश्विक सङ्कटको सामना गर्न वैकल्पिक उपायहरू अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। उनले नागरिकहरूलाई वर्क फ्रम होमु जस्ता उपाय अपनाउन र मेट्रो रेल सुविधा भएका सहरमा सार्वजनिक यातायातको प्रयोग गर्न आग्रह गरेका छन्।

इन्धनसँगै मोदीले देशको विदेशी मुद्रा सञ्चिति बचाउनका लागि सुनको खपतमा समेत नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन्। पहिलेका युद्धहरूमा मानिसहरूले सुन दान गर्ने गरेको स्मरण गर्दै उनले अहिले दानको आवश्यकता नभए पनि आगामी एक वर्षसम्म कुनै पनि कार्यक्रममा सुन खरिद नगर्ने सङ्कल्प लिन अपिल गरेका छन्। सुन आयातमा ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिने भएकाले देशहितका लागि आगामी एक वर्षसम्म सुन नकिन्न र दान नगर्न उनले आग्रह गरेका हुन्।

प्रधानमन्त्री मोदीले इन्धन बचाउनका लागि अनावश्यक सवारी साधनको प्रयोग नगर्न, सम्भव भएसम्म कार पुलिङ गर्न र धेरैभन्दा धेरै मानिस एउटै सवारीमा यात्रा गर्न सुझाव दिएका छन्। यसैगरी उनले खाद्य तेलको खपतमा समेत केही कमी ल्याउन परिवारहरूलाई अनुरोध गरेका छन्। खाने तेलको प्रयोग घटाउँदा एकातिर विदेशी मुद्रा बचत हुने र अर्कोतिर मानिसको स्वास्थ्य पनि राम्रो हुने उनको तर्क छ।

कृषि क्षेत्रको प्रसङ्गमा बोल्दै मोदीले रासायनिक मलको खपत आधा घटाउने लक्ष्य राख्नुपर्ने र तीव्र रूपमा प्राकृतिक खेतीतर्फ अघि बढ्नुपर्ने बताएका छन्। यसका साथै विश्वव्यापी आर्थिक दबाब र महँगो इन्धनका कारण भारतमा बढ्दो आर्थिक बोझलाई कम गर्न विवाह, बिदा वा अन्य कुनै पनि बहानामा गरिने विदेश भ्रमणहरू केही समयका लागि टार्न उनले आग्रह गरेका छन्।वैश्विक सङ्कटका बेला यी साना प्रयासहरूले देशको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।

कमेन्टहरु