हान्टाभाइरस प्रभावित क्रुज जहाजका यात्रुको उद्धार सुरु


म्याड्रिड । स्पेनले टेनेरिफनजिक रोकिएको हान्टाभाइर संक्रमित क्रुज जहाज ‘एमएस होन्डियस’का यात्रुहरूको उद्धार कार्य सुरु गरेको छ ।स्पेनी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले उद्धार प्रक्रिया सामान्य रूपमा अगाडि बढिरहेको बताउँदै जहाजमा रहेका सबै यात्रुमा हालसम्म कुनै लक्षण नदेखिएको जानकारी दिएकी छन् ।जहाजबाट पहिलो समूहका यात्रुलाई सानो डुंगामार्फत किनारातर्फ ल्याइएको थियो ।
उनीहरू सबैले सेतो मेडिकल मास्क लगाएका थिए । किनारामा उनीहरूलाई सेतो सुरक्षात्मक पोसाक लगाएका स्वास्थ्य तथा सुरक्षा अधिकारीहरूले स्वागत गरेका थिए । यात्रुहरूलाई राष्ट्रियताका आधारमा विभिन्न समूहमा विभाजन गरी क्रमशः किनारामा ल्याइँदै छ । त्यसपछि बसमार्फत स्थानीय विमानस्थल पुर्याइनेछ र चार्टर विमानमार्फत उनीहरूलाई आफ्ना देश फर्काइने योजना छ ।
सुरुमा १४ जना स्पेनी नागरिकलाई जहाजबाट उतारिनेछ । त्यसपछि नेदरल्यान्ड्सद्वारा व्यवस्था गरिएको उडानमार्फत डच, ग्रीक र जर्मन यात्रु तथा केही चालक दलका सदस्यलाई पठाइनेछ । त्यसपछि बेलायत र अमेरिकालगायत अन्य देशतर्फ पनि थप उडान सञ्चालन गरिनेछन् ।अन्तिम उद्धार उडान सोमबार अस्ट्रेलियातर्फ जाने अपेक्षा गरिएको छ ।






















