समाज

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

नवलपुर टुडे
२०८३ बैशाख २७ | मध्यान्ह ०४:०१ बजे

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोर्खा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मिप्रा गाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन् । यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिने गरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन् ।

स्थानीयले भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएका सिकारी टेकबहादुर गुरुङ बताउँछन् । विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको उनी बताउँछन् ।

“भिर मौरीको मह औषधीका रूपमा प्रयोग हुन्छ । औषधिको रूपमा उपयोग गर्न जोखिम मोलेर भिरबाट मह काढ्ने गरेका छौँ”, गुरुङ भन्छन्, “भिर मौरीको महको माग पनि बढी छ ।” वर्षमा दुई पटक मह काढ्ने गरिएको उनले बताए ।

गुरुङले भने, “पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्ने हुन्छ भने दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिसक्नुपर्छ । शुक्रबार मात्रै मह काढ्ने चलन छ ।” मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको उनी बताउँछन्।

मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ । आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्‍याङ बनाउने गर्दछन् । एक पटक बनाइएको भर्‍याङ तीन/चार वर्षसम्म उपयोग गर्न सकिन्छ ।

यसरी बनाइएको भर्‍याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भिरमा मह सिकारका लागि जाने गर्दछन् । विश्वकै साहसिक पेसाको रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मिनबहादुर गुरुङ बताउँछन् ।

“पहिला पहिला त मुख मात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौँ”, उनले भने, “यसले जोखिमबाट जोगाएको छ ।”

मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भने बढी चिलेमा मानिसको ज्यानै जान सक्ने जोखिम हुने गुरुङले बताए। पहिलेदेखि नै औषधिको रूपमा प्रयोग गरिँदै आएको भिर मौरीको मह स्थानीयकै घरमा सीमित हुने गर्दथ्यो । मानवीय विकाससँगै पहिरनमा परिवर्तन हुँदै जाँदा शरीरमा पुरा कपडाले ढाकिने चलन बढ्नुका साथै सुरक्षित तवरबाट मह सिकारमा पनि सहज हुँदै गएको स्थानीयको भनाइ छ । पहिले स्थानीयको सहभागितामा मात्रै निकालिने मह अहिले विदेशीको आकर्षण बढ्दै गएको गुरुङ बताउँछन् ।

हाल भिर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेको स्थानीय बताउँछन् । पर्यटकलाई आकर्षित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन् । “यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ । तर, यहाँका स्थानीयको साहसिकताले लोभ्यायो”, उनले भने, “प्राकृतिक जोखिम मोले जस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ ।”

आश्चर्य चकित पार्ने गरी स्थानीयले मह निकालेको देख्दा डर लागेको केमल बताउँछन् । “म त निकालेको महमा केही मौरी बसेको देख्दा पनि डराएको थिए । नेपाली साहसी छन्, नेपालीको बारेमा जुन बयान सुनिएको थियो त्यो आफ्नै आँखाले देख्न पाइयो”, उनी भन्छन् ।

भिर मौरीको मह काढ्ने परम्परा मात्रै नभएर मह औषधिजन्य भएकाले अझ माग बढी हुने गरेको छ । त्यसैले यसलाई निरन्तरता दिन आवश्यक छ । प्राकृतिक उपजको रूपमा विकास गर्दै आयआर्जनको माध्यम बनाउन संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्था देखिन्छ । यस परम्परालाई जीवन्त राख्दै विदेशीको आकर्षणको केन्द्र बनाउने प्रयासमा सबैको ध्यान जानुपर्ने हुन्छ ।

कमेन्टहरु