खैबर पख्तुन्ख्वामा आत्मघाती हमला : कम्तीमा १५ प्रहरीको मृत्यु


खैबर पख्तुन्ख्वा । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तको बन्नु जिल्लास्थित फतेह खेल प्रहरी चौकीमा शनिबार राति भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।आक्रमणकारीहरूले विस्फोटक पदार्थले भरिएको सवारी साधन प्रहरी चौकीमा ठोक्काएर हमला सुरु गरेका थिए । त्यसपछि आतङ्ककारीहरूले विभिन्न दिशाबाट भारी गोलीबारी गरेका थिए ।
विस्फोट यति शक्तिशाली थियो कि प्रहरी चौकी पूर्ण रूपमा ध्वस्त भएको छ । चौकीमा रहेको बख्तरबन्द गाडी पनि नष्ट भएको बताइएको छ । आसपासका भवनहरूमा समेत ठुलो क्षति पुगेको छ ।
घटनापछि स्थानीय अस्पतालहरूमा आपतकाल घोषणा गरिएको छ । उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ र मृतक सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । आक्रमणपछि प्रहरीले क्षेत्रलाई घेराबन्दी गरी सुरक्षा अभियान सुरु गरेको छ ।
सहरभर सुरक्षा व्यवस्था कडा पारिएको छ र थप चेकपोस्टहरू स्थापना गरिएको छ । हालका महिनाहरूमा बन्नुमा लगातार हिंसात्मक घटनाहरू भइरहेका छन् । प्रहरी, स्थानीय सुरक्षा निकाय तथा नागरिकहरू बारम्बार आक्रमणको निशानामा परिरहेका छन् ।






















