प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको नियमित जाँच

रासस
२०८३ बैशाख २७ | बिहान ११:०१ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको जाँचलाई तीव्रता दिएको छ ।
विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारी साधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो ।उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारी साधनले तोकिएको मापदण्ड पालना गरे/नगरेको यकीन गर्न यो अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारी साधनलाई प्रहरीले तत्कालै कानुनअनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ । मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्ने भएकाले जरिवानासहित कारबाही प्रक्रिया अघि बढाएको हो ।






















