देवघाटको झोलुङ्गे पुल जीर्ण


तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल जीर्ण भएकाले सोही ठाउँमा नयाँ पुल निर्माण गर्न माग गरिएको छ ।देवघाट गाउँपालिका–५ ले आयोजना गरेको सरोकारवालाको छलफलमा हाल भइरहेको पुल जीर्ण भएकाले सोही स्थानमा नयाँ झोलुङ्गे पुल निर्माण गर्न माग गर्ने निर्णय गरिएको हो ।वडाध्यक्ष पूर्णबहादुर कुँवरले ४४ वर्ष अगाडि निर्माण गरिएको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, “हाल भइरहेको स्थानमा नै नयाँ झोलुङ्गे पुल निर्माण गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ । स्थानीयको छलफलको निर्णयसहित पुल निर्माणका लागि सङ्घीय सरकारसँग आग्रह गर्नेछौँ ।”देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटका स्थानीयवासीलाई सहज रुपमा आवतजावत गर्नका लागि यहाँ नै पुल उपयुक्त हुने बताए ।
माघेसङ्क्रान्तिको समयमा भने प्रत्येक वर्ष केही दिन उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । यसअघि विसं २०८२ मङ्सिर २५ गते सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजनले देवघाट क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ र चितवन तथा भरतपुर महानगरपालिका र देवघाट गाउँपालिकालाई पत्राचार गरि उक्त पुलमा मोटरसाइकल चलाउन रोक लगाउन अनुरोध गरेको थियो ।
विसं २०३७ मा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । भीड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले पुलबाट आवत जावत गर्छन् । एकै पटकमा सयौं जनाले पुल तर्दा उक्त पुल पिङ झैँ हल्लने गरेको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताए ।
देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् ।सोही पुलबाट दैनिक सयौँ स्थानीयले मोटरसाइकल पनि वारपार गर्दै आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलबम मेला, बालाचर्तुदशी, माघेसङ्क्रान्ति मेला, औँशी, एकादशी, सूर्य ग्रहण, चन्द्र ग्रहणलगायत धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौँ हजारले उक्त पुलबाट आवत जावत गर्छन् ।






















