प्रबास

ट्रम्पको १० प्रतिशत नयाँ भन्सार शुल्क अदालतद्वारा अवैध घोषित

एजेन्सी
२०८३ बैशाख २५ | मध्यान्ह १२:०१ बजे

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्न खोजेको अमेरिका भित्रिने सबै सामानमा १० प्रतिशत अतिरिक्त भन्सार महसुल (ट्यारिफ) संघीय अदालतले अवैध ठहर गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतका न्यायाधीशहरूको प्यानलले २–१ को बहुमत निर्णयमार्फत ट्रम्प प्रशासनले उक्त शुल्क लागू गर्न पर्याप्त कानुनी आधार प्रस्तुत गर्न नसकेको जनाएको हो ।

अदालतले सन १९७४ को व्यापार कानुनअन्तर्गत रहेको “सेक्सन १२२” प्रयोग गरेर शुल्क लागू गरिएको भए पनि त्यसका लागि आवश्यक मापदण्ड पूरा नभएको निष्कर्ष निकालेको छ । उक्त कानुनले विशेष परिस्थितिमा राष्ट्रपतिलाई कंग्रेसको स्वीकृतिबिना अधिकतम १५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अधिकार दिन्छ ।

यस निर्णयपछि अदालतले सम्बन्धित मुद्दाका वादीहरूबाट असुल गरिएको शुल्क संकलन रोक्न र पहिले लिइएको रकम फिर्ता गर्न आदेश दिएको छ । यद्यपि निर्णय तत्काल सबै आयातकर्तामा लागू नहुने भए पनि यसलाई ट्रम्प प्रशासनको आर्थिक नीतिमा ठुलो धक्का मानिएको छ ।

यसअघि पनि अमेरिकी सर्वाेच्च अदालतको एउटा निर्णयपछि ट्रम्प प्रशासनका व्यापक भन्सार नीति कानुनी विवादमा परेका थिए । नयाँ निर्णयले भविष्यमा राष्ट्रपतिले एकतर्फी रूपमा व्यापार शुल्क लागू गर्ने अधिकारबारे थप बहस सुरु हुने संकेत दिएको छ । 

कमेन्टहरु