Opens in a new tab

समाज

बाल्टिमोरमा नेपालको संस्कृति झल्काउने सडक महोत्सव

रासस
२०८३ अशोज १२ | मध्यान्ह ०२:०६ बजे

टेक्सस । अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सडक महोत्सव–२०२६ आयोजना गरिएकाे छ । नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका (बाना) को अगुवाइमा गत आइतबार भएको महोत्सवमा मेरिल्याण्डलगायत आसपासका राज्यमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता थियो।

‘हाम्रो संस्कृति, सम्पदा र समुदायको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा नेपाली समुदायका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्थाले आ–आफ्ना ब्यानरसहित सहभागिता जनाए ।

सहभागी संस्थाले आफ्ना मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने विभिन्न झाँकीसमेत प्रस्तुत गरे । महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा, संगीत, नृत्य तथा हस्तकलाका साथै विभिन्न नेपाली खानाका परिकार प्रदर्शन तथा प्रस्तुत गरियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले सांस्कृतिक प्रस्तुति दिए ।

नेपालको कला, संस्कृति, परम्परा तथा सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बानाका वरिष्ठ उपाध्यक्ष जनकबहादुर थापाले जानकारी दिए । बानाले सात वर्षदेखि हरेक वर्ष नेपाल सडक महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सव आठौँ संस्करण हो ।

नेपालको कला, संस्कृति, प्राकृतिक तथा पर्यटकीय सम्पदाको प्रचार–प्रसार गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।

नेपाली कला तथा संस्कृतिलाई अमेरिकी समुदायमाझ परिचित गराउँदै नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन महोत्सवले योगदान पुर्याउने विश्वास लिइएको छ ।

यसैबिच, हालै भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन समेत महोत्सवका माध्यमबाट आह्वान गरियो । नेपाली दूतावास, वासिङ्टन डीसी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका तथा नेपाल पर्यटन बोर्ड लगायतका संस्थासँगको सहकार्यमा उक्त महोत्सव आयोजना गरिएको थियो ।

कमेन्टहरु