Opens in a new tab

प्रबास

गाजामा इजरायली सेनाको कारबाही, नोभा महोत्सव अपहरणमा संलग्न व्यक्ति मारिएको दाबी

एजेन्सी
२०८३ अशोज १२ | मध्यान्ह ०२:०६ बजे

गाजा । इजरायली सेनाले सन् २०२३ अक्टोबर ७ मा हमासको घातक आक्रमणका क्रममा संगीत महोत्सवबाट दुई जनालाई अपहरण गरेको दृश्यमा देखिएका एक प्यालेस्टिनी लडाकू मारिएको दाबी गरेको छ ।

आक्रमणपछि व्यापक रूपमा सार्वजनिक भएको भिडियोमा नोआ अर्गामानी र अविनातान ओरलाई नोभा संगीत महोत्सवबाट लडाकूहरूले अपहरण गर्दै गरेको देखिएको थियो ।

इजरायली सेनाका अनुसार नुसेइरात क्षेत्रमा गरिएको कारबाहीका क्रममा साहेर निडाल लत्फी साकर नाम गरेका व्यक्ति मारिएका हुन् । सेनाले उनी गाजापट्टीमा सक्रिय विश्वव्यापी जिहादी संगठनहरूसँग सम्बन्धित एक लडाकू रहेको दाबी गरेको छ ।

सेनाका अनुसार अर्गामानी र ओरलाई अपहरण गर्न प्रयोग गरिएको मोटरसाइकल साकरले चलाएका थिए ।

अर्गामानीलाई सन् २०२४ जुनमा मध्य गाजापट्टीमा गरिएको इजरायली सैन्य कारबाहीका क्रममा उद्धार गरिएको थियो । ओर भने युद्धविरामसम्बन्धी सम्झौताअन्तर्गत गत अक्टोबरमा हमासको नियन्त्रणबाट मुक्त भएका थिए ।

इजरायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ अक्टोबर ७ मा हमास र उसका सहयोगी समूहहरूले नोभा संगीत महोत्सवमा कम्तीमा ३७० जनाको ज्यान लिएका थिए भने ४४ जनालाई बन्धक बनाएका थिए ।

कमेन्टहरु