भन्सार छलीका सामान बरामद


नेपालगन्ज । बाँकेमा प्रहरीले भन्सार छली गरेर ल्याएका रु आठ लाख ४५ हजार बरावरका विभिन्न समान बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक समान र हार्डवेयरका सामान बरामद गरिएको जानकारी दिए । ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्ज पठाइएको उनले बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बाट ती समान बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, अनुसन्धान प्रक्रियामा रहेका मुद्दा मिलाउने भन्दै प्रतिवादीका परिवारसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्दा मिलाइदिने बहानामा रकम असुल गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका १२, चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारुलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक पातलीले थारुलाई विभिन्न मिति र समयमा विविध कसुरमा संलग्न व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रियामा रहेका मुद्दा मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम लिएको आरोपमा नियन्त्रणमा लिइएको जानकारी दिए । उनले पक्राउ परेका थारुविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसुरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको बताए ।
त्यसैगरी, प्रहरीले मंगलबार दुई जनालाई नेपालगन्जबाट लागू औषधसहित पक्राउ गरेको छ । भारतको बहराइच रुपैडिहा बाबागन्ज बस्ने मोहम्मद हामीद र सोही स्थान बस्ने २२ बी सकिनादेवी पथकरलाई प्रहरीले पक्राउ गरेको हो । केही लागू औषधसहित पक्राउ परेका उनीहरूसँगबाट प्रहरीले दुई थान मोबाइल र युपी ४० बिएच ४७०८ नं को मोटरसाइकल बरामद भएको प्रनाउ पातलीले बताए ।





















