बिश्व

पश्चिम एसियामा अमेरिकी सैन्य संरचनामा इरानी आक्रमणले २५ अर्ब डलरको नोक्सानी

एजेन्सी
२०८३ बैशाख १९ | मध्यान्ह ०५:०१ बजे

तेहरान । अमेरिका र इरानबिच जारी युद्धका कारण पश्चिम एसियामा रहेका अमेरिकी सैन्य संरचनाहरूमा गम्भीर क्षति पुगेको छ।फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरानबिचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा आठ देशमा फैलिएका १६ वटा अमेरिकी सैन्य स्थललाई निशाना बनाएका हुन्।एक हालैको अनुसन्धान प्रतिवेदनअनुसार तीमध्ये अधिकांश सैन्य आधारहरू नराम्ररी क्षतिग्रस्त भएका छन् भने कतिपय स्थलहरू पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।

संसदीय स्रोतहरूका अनुसार प्रभावित भएका यी संरचनाहरू पश्चिम एसियामा रहेका कूल अमेरिकी सैन्य उपस्थितिको ठुलो हिस्सा हुन्। उपग्रहबाट प्राप्त तस्बिरहरूले इरानले विशेष गरी अमेरिकाका अत्यन्तै महँगा रडार प्रणाली, सञ्चार संयन्त्र र अत्याधुनिक हवाई साधनहरूलाई रणनीतिक रूपमा निशाना बनाएको देखाएका छन्।

यी उपकरणहरू निकै खर्चिला हुनुका साथै तत्कालै प्रतिस्थापन गर्न कठिन हुने भएकाले यसले यस क्षेत्रमा अमेरिकी सैन्य क्षमतालाई प्रत्यक्ष रूपमा कमजोर बनाएको विशेषज्ञहरूको विश्लेषण छ।

विशेषज्ञहरूले इरानले लागतका हिसाबले निकै प्रभावकारी रणनीति अपनाएको र कम स्रोतको प्रयोग गरी अमेरिकालाई ठुलो रणनीतिक क्षति पुर्‍याउन सफल भएको उल्लेख गरेका छन्। अमेरिकी रक्षा निकायका एक उच्च अधिकारीका अनुसार इरानसँगको यो पछिल्लो द्वन्द्वका कारण अहिलेसम्म अमेरिकी करदाताको करिब २५ अर्ब डलर खर्च भइसकेको छ।

यस घटनाक्रमले पश्चिम एसियामा अमेरिकी सैन्य उपस्थितिको सुरक्षा र भावी रणनीतिमाथि गम्भीर प्रश्न उठाइदिएको छ भने आगामी दिनमा यो द्वन्द्व अझै चर्किने र क्षेत्रीय सुरक्षा थप जटिल बन्ने सङ्केत दिएको छ।

कमेन्टहरु