समाज

कञ्चनपुरमा दलित समुदायलाई स्वरोजगारको अवसर : तालिमसँगै जनही २५ हजार अनुदान

रासस
२०८३ बैशाख १९ | मध्यान्ह ०३:०१ बजे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले विशेष तालिम तथा अनुदान कार्यक्रम सुरु गरिएको छ।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २५ जना दलित परिवारलाई बाख्रा तथा कुखुरापालन सम्बन्धी सातदिने तालिम दिन थालेको हो।

कार्यालयका प्रमुख भीमबहादुर बुढाका अनुसार यो कार्यक्रमले सहभागीलाई सीपयुक्त बनाई उनीहरूको आर्थिक अवस्था सुधार्ने र स्थानीयस्तरमै आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। वडा कार्यालयको सिफारिसमा छानिएका अतिविपन्न परिवारलाई विज्ञ प्रशिक्षकमार्फत तालिम दिइँदै छ।

तालिम पूरा गरेपछि प्रत्येक सहभागीलाई व्यवसाय सुरु गर्न प्रोत्साहन स्वरूप बैंक खातामार्फत २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने छ। नगर उपप्रमुख कल्पना पन्तले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र अनुदान रकमको सही सदुपयोग गर्न आग्रह गर्दै यसको नियमित अनुगमन गरिने जानकारी दिइन्। त्यस्तै, वडाध्यक्ष लालबहादुर ऐरले यस्ता कार्यक्रमले विपन्न समुदायलाई आत्मनिर्भर बन्न प्रेरणा दिने र रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्ने बताए।

तालिममा सहभागी टेकबहादुर सार्कीले स्थानीयस्तरमा काम नपाउँदा भारत जानुपर्ने विवशता सुनाउँदै यो कार्यक्रमले स्वरोजगार बन्न मद्दत पुग्ने आशा व्यक्त गरे। गत वर्ष मात्रै सिमलखेतका ११ अतिविपन्न दलित परिवारका लागि प्रदेश सरकारले सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेको थियो।अहिलेको तालिम र अनुदानले उनीहरूलाई गाउँमै बसेर आफ्नै व्यवसाय सुरु गर्न र जीवनस्तर उकास्न थप टेवा पुर्‍याउने विश्वास गरिएको छ।

कमेन्टहरु