तपाईंले खाइरहेको स्याउ केमिकलले भरिएको त छैन ? यसरी गर्नुहोस् पहिचान


काठमाडौँ । आजभोलि बजारमा पाइने फलफूल हेर्दा जति चम्किला र आकर्षक देखिन्छन्, तिनको शुद्धता र सुरक्षामा त्यति नै धेरै प्रश्न उठ्ने गरेका छन्। विशेषगरी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने स्याउ अहिले केमिकल र मैनका कारण चर्चामा छ। ‘दिनको एउटा स्याउ खाऔँ, डाक्टरलाई टाढा भगाऔँ’ भन्ने उखान त्यतिबेला मात्र सही साबित हुन्छ, जतिबेला स्याउ शुद्ध र प्राकृतिक हुन्छ।
आफूले किनिरहेको स्याउ प्राकृतिक हो वा केमिकल प्रयोग गरेर तयार पारिएको हो भन्ने जान्न केही सजिला तरिकाहरू अपनाउन सकिन्छ। सबैभन्दा पहिले स्याउको पहिचान त्यसको चमकबाटै गर्न सकिन्छ। धेरै चम्किलो देखिने स्याउमा अक्सर मैन कोट गरिएको हुन्छ भने प्राकृतिक स्याउ हल्का फिका प्रकृतिका हुन्छन्। त्यसैगरी, स्याउलाई हातले रगडेर हेर्दा चिल्लो महसुस भयो वा सेतो पत्र निस्कियो भने त्यो मैनको निशानी हो।
यसलाई जाँच्ने अर्को प्रभावकारी तरिका मनतातो पानीको प्रयोग हो। स्याउलाई हल्का तातो पानीमा डुबाउँदा यदि पानीको सतहमा सेतो पत्र तैरिन्छ भने त्यसमा मैन वा केमिकल लगाइएको छ भन्ने प्रस्ट हुन्छ।
यसका साथै, प्राकृतिक स्याउको स्वाद अलि बढी गुलियो र सुगन्धित हुन्छ तर केमिकल प्रयोग गरिएका स्याउमा सुगन्ध निकै कम हुन्छ। स्याउलाई काटेर भित्र हेर्दा पनि धेरै चम्किलो वा अस्वाभाविक देखिएमा सावधान हुनुपर्छ, किनकि प्राकृतिक स्याउ भित्रबाट सामान्य र हल्का रङको हुन्छ।
बजारबाट ल्याइएको स्याउ खानुभन्दा अघि केही सावधानी अपनाउनु नितान्त जरुरी छ। स्याउलाई सिधै टोकेर खानु हुँदैन, सधैँ राम्ररी पखालेर मात्र खानुपर्छ। यसलाई सफा गर्न मनतातो पानीमा नुन वा बेकिङ सोडा मिसाएर धुनु सबैभन्दा सुरक्षित उपाय हो।
बजारमा पाइने धेरैजसो स्याउमा बाहिरी आवरणलाई आकर्षक बनाउन लेपन गरिने भएकाले मैनको शङ्का लागेमा बोक्रा ताछेर खानु नै स्वास्थ्यका दृष्टिकोणले सबैभन्दा उत्तम हुन्छ।






















