बिश्व

५७ दिनपछि तेहरानको मुख्य विमानस्थलमा उडान पुनः सुरु

एजेन्सी
२०८३ बैशाख १६ | मध्यान्ह ०२:०१ बजे

तेहरान । इरानको राजधानी तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा ५७ दिनको बन्दपछि पुनः उडान सञ्चालन सुरु भएको छ । युद्धका कारण बन्द गरिएको हवाई क्षेत्र केही दिनअघि मात्रै खुलाइएपछि सीमित रूपमा उडानहरू पुनः सुरु भएका हुन् ।सामान्य अवस्थामा दैनिक १०० देखि १५० उडान सञ्चालन हुने यस विमानस्थलमा अहिले भने करिब १० देखि १५ उडान मात्रै भइरहेका छन् । यात्रु आवागमन बिस्तारै बढ्दै गएको देखिए पनि अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन ।

आन्तरिक उडानका लागि प्रयोग हुने तेहरानको अर्को विमानस्थल मेहराबाद विमानस्थल युद्धका क्रममा पटक–पटक आक्रमणमा परेको थियो । त्यसैगरी तब्रिज र उर्मियालगायत क्षेत्रका विमानस्थलहरू पनि लक्षित भएका थिए ।

सङ्घर्षका क्रममा केही नागरिक विमानहरू क्षतिग्रस्त भएको बताइएको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको असर झेलिरहेको इरानको उड्डयन क्षेत्रका लागि यो थप ठुलो क्षति भएको छ । 

कमेन्टहरु