प्रबास

महात्मा गान्धीको मार्कसिट चर्चामा, कति पाएका थिए अंक ?

एजेन्सी
२०८३ बैशाख १५ | मध्यान्ह ०५:०१ बजे

नयाँ दिल्ली । भारतमा यतिबेला सामाजिक सञ्जालमा महात्मा गान्धीको १० कक्षाको मार्कसिट भाइरल भइरहेको छ । उनको अंक देखेर मानिसहरू छक्क परिहेका छन् । १८८७ मा महात्मा गान्धीले बम्बई विश्वविद्यालय (अहिले मुम्बई विश्वविद्यालय)बाट म्याट्रिक परीक्षा दिएका थिए । उनले राजकोटको अल्फ्रेड हाई स्कुल (तत्कालीन राजकोट हाई स्कूल)मा अध्ययन गरेका थिए । मार्कसिट अनुसार उनले कुल ६२५ अंकमध्ये केवल २४७ दशमलव ५ अंक प्राप्त गरेका छन्, यो ३९ दशमलव ६ प्रतिशत मात्रै हो । यो अंकसहित उनले बोर्डमा ४०४ औं स्थान हासिल गरेका थिए । त्यो वर्ष हजारौं विद्यार्थीहरू परीक्षामा बसेका थिए र केवल ७९९ जना मात्र उत्तीर्ण भए । 

मार्कसिटअनुसार गान्धीले अंग्रेजीमा २०० मा ८९ ल्याएका थिए । गुजराती सय अंकमा ४५ दशमलव ५, गणितमा १७५ मा ५९ र सामान्य ज्ञानमा १५० मा ५४ ल्याएका थिए । गान्धीले गणितमा ५९ अंक मात्रै ल्याएको देखेर धेरै मानिसहरू परेका छन् ।

युवाहरूले ‘बापु पनि गणितमा कमजोर ’, ‘अंकले केही अर्थ राख्दैन’ कमेन्ट गरिरहेका छन् । महात्मा गान्धीले आफैंले आफ्नो आत्मकथा, ‘द स्टोरी अफ माई एक्सपेरिमेन्ट्स विथ ट्रुथमा’मा आफू विद्यालयमा तेजस्वी विद्यार्थी नभएको कुरा लेखेका थिए ।

पढाइमा आफ्नो रुचि कम भएको र आफू सामान्य विद्यार्थी रहेको पनि उनले स्वीकार गरेका थिए । तर उनले कहिल्यै हार मानेनन् । सन् १८८८ मा उनी लन्डन गए अनि ब्यारिस्टर बनेर फर्किए । पछि उनले भारतको स्वतन्त्रताको लडाइँमार्फत सम्पूर्ण विश्वलाई प्रभावित पारे ।

कमेन्टहरु