हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवाहरू


गोरखा । केही दिनअघि हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवा मिलेर पालैपालो मर्मतसम्भार गर्दैछन्। जिल्लाको पालुङटार नगरपालिका–९ मा गत वैशाख ६ गतेको हुरीबतासले उडाएका घर गाउँले युवा मिलेर बिनाज्याला मर्मतसम्भार गरिरहेका हुन्।
हावाहुरीले उडाएका घर हारगुहारमा मर्मतसम्भार गरिरहेको स्थानीय युवाहरू बताउँछन् । “हुरीबतासले गाउँमा सबैजसोका घर उडायो । हुरीसँगै पानी परेर घरभित्रका सामान भिजायो”, पालुङ्टार–९ सिस्नेरीका सुरेश सुनारी मगरले भने, “गाउँमा विपद् परेको भोलिपल्टै हामीले एउटा डफ्फा बनायौँ । काठको काम जान्नेले काठको काम, छाना छाउन जान्नेले छानाको काम, विद्युत् वायरिङ जान्नेले वायरिङको काम, जसले जे जानेको छ त्यही काम गरेर सबैलाई मद्दत गरिरहेका छौँ ।” युवाहरूको स्वयंसेवी अभियानले अहिलेसम्म गाउँका २५ भन्दा धेरैको घर मर्मतसम्भार गरिसकेको उनले बताए।
गत वैशाख ६ गते साँझपख चलेको हुरीबतासले पालुङटार नगरपालिका–९ मा ३८ घरको छाना उडाएको नगरपालिकाले जानकारी दिएको छ । वडा नम्बर ८ मा आठ, वडा नम्बर ७ मा १० र वडा नं ६ मा १३ घर उडाएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए । वडा नम्बर ९ को त्रिवेणी मावि र एउटा स्वास्थ्य संस्थासमेत उडाएको बिसीले जानकारी दिए।
पालिकाले तत्कालको समस्या समाधानका लागि त्रिपाल वितरण गरेको उनको भनाइ छ । “अहिले लगत सङ्कलन भर्खर सकिएको छ । केही दिनमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्ण क्षति भएकाहरूको घर पालिकाले मर्मत गरिदिने निर्णय गर्नेछौँ”, उनले भने।






















