बिश्व

ड्रोन आक्रमणपछि रुसको रिफाइनरीमा ठुलो आगलागी

एजेन्सी
२०८३ बैशाख १५ | मध्यान्ह ०३:०१ बजे

मस्को । युक्रेनले गरेको ड्रोन आक्रमणले रुसको तुआप्से तेल रिफाइनरीमा भएको ठुलो आगलागी भएको छ, जसका कारण नजिकका भवनहरू खाली गरिएका छन् ।स्थानीय अधिकारीहरूले मंगलबार घटनाबारे जानकारी दिएका हुन् । यो रिफाइनरी रुसी ऊर्जा कम्पनी रोसनेफ्टद्वारा सञ्चालित थियो । यहाँ मुख्य रूपमा निर्यातका लागि तेल उत्पादन हुन्थ्यो । उद्योग स्रोतका अनुसार यसले अप्रिल १६ मा ड्रोन आक्रमणपछि नै  सञ्चालन रोकेको थियो ।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्राटिभले टेलिग्राममार्फत रिफाइनरीमा ड्रोन आक्रमणपछि ठुलो आगलागी भएको पुष्टि गरेका छन् । तुआप्से जिल्लाका प्रमुख सर्गेई बोयकोले आगो फैलिने जोखिमका कारण रिफाइनरी नजिकका सडकहरू खाली गर्न आदेश दिएका छन् ।

यसअघि पनि सोही क्षेत्रमा भएको आक्रमणले समुद्रमा तेल चुहावट भएको थियो । यसबाट सुरु भएको आगो निभाउन  धेरै दिनसम्म पनि सकिएको थिएन । आगलागीबाट बनेका कणहरू वर्षासँग मिसिएर टर्मिनल आसपास कालो तह बनेको रिपोर्ट आएपछि स्थानीय प्रशासनले बासिन्दालाई घरभित्र बस्न, झ्याल बन्द राख्न र सतह सफा गर्न समेत आग्रह गरेको थियो ।

तुआप्से रिफाइनरीको वार्षिक उत्पादन क्षमता करिब १ करोड २० लाख मेट्रिक टन छ। यसले नेफ्था, डिजेल, इन्धन तेल र अन्य पेट्रोलियमहरू बनाउँछ ।

कमेन्टहरु