गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार


कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् ।
स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान जोखिममा परेका महिलाहरुका लागि प्रदेश सरकारले विसं २०७६ देखि निःशुल्क हवाई उद्धार सेवा सुरु गरेको थियो । सरकारले गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता उत्पन्न भएमा अवस्था हरेर हेली उद्धार गरेर सुविधासम्पन्न अस्पतालमा उपचारको लागि यो कार्यक्रम ल्याएको हो । दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसका आधारमा उद्धार हुने गरेको छ ।
यो सेवा सबैभन्दा बढी लिनेमा बागलुङका ३० महिला रहेका छन् । यसैगरी म्याग्दीका १८, गोरखाका छ, मुस्ताङका पाँच, लमजुङका चार र पर्वत र मनाङका दुई दुई जना छन् । दुर्गम क्षेत्रमा निःशुल्क हवाई उद्धार कार्यक्रम प्रभावकारी बनेको अधिकारीले बताए । उनले पछिल्लो समय हवाई उद्धार गर्नुपर्ने अवस्था भने कम भएको बताए । “जिल्ला अस्पतालबाहेक पालिकासम्म पनि विशेषज्ञ चिकित्सक सेवा सुरु भएको छ । अस्पतालहरुको स्तरोन्नतिका कारणले समेत गाउँमै राम्रो उपचार सेवा कारण उद्धार गर्नुपर्ने घटना कम हुँदै गएको हो”, उनले भने ।
गण्डकी प्रदेश सरकारबाहेक सङ्घीय सरकारले समेत हवाई उद्धार कार्यक्रम सञ्चालन गरिरहेको छ । सङ्घीय सरकारले तोकिएको दुर्गम क्षेत्रबाट मात्र हवाई उद्धार सेवा प्रदान गरेपनि गण्डकी प्रदेश सरकारले भने प्रदेशको जुनसुकै स्थानबाट समेत उद्धारको प्रबन्ध गरेको छ ।






















