बिश्व

ओडेसामा रुसी आक्रमण, जापोरिज्झियाको परमाणु केन्द्रमा युक्रेनी ड्रोन प्रहार

एजेन्सी
२०८३ बैशाख १४ | मध्यान्ह ०७:०१ बजे

मस्को । रुस र युक्रेनबिचको लडाई फेरि चर्किएको छ । युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ११ जना घाइते भएका छन्, जसमा दुई बालबालिका पनि परेका छन् । 

ओडेसा क्षेत्रका गभर्नर ओलेक किपरका अनुसार तीन वटा जिल्लामा आक्रमण भएको थियो । आक्रमणबाट आवासीय भवन, सवारी साधन, होटल, गोदाम र फ्युनिक्युलर रेलमार्गजस्ता संरचनामा क्षति पुगेको छ । धेरै भवनका झ्यालहरू फुटेका छन् र बन्दरगाह क्षेत्रमा पनि असर परेको छ ।

यसैबिच, दक्षिणपूर्वी जापोरिज्झिया क्षेत्रमा रुसी आक्रमणमा ५९ वर्षीय एक व्यक्तिको मृत्यु भएको गभर्नर इभान फेदोरोभले बताएका छन् । उनका अनुसार एकै दिनमा ४५ स्थानमा ६२९ आक्रमण गरिएको छ, जसले घर र पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ । 

रुसी पक्षले भने जापोरिज्झिया परमाणु ऊर्जा केन्द्रमा युक्रेनी ड्रोन आक्रमण भएको दाबी गरेको छ । उक्त केन्द्रमा कार्यरत एक चालकको मृत्यु भएको बताइएको छ । यो परमाणु केन्द्र हाल रुसको नियन्त्रणमा रहेको छ । तर त्यो सञ्चालनमा छैन । 

उता, बेलगोरोद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण भएको रुसी अधिकारीहरूले बताएका छन्, जहाँ एक जनाको मृत्यु भएको र चार महिला घाइते भएको जानकारी दिइएको छ । 

कमेन्टहरु