समाज

ओझेलमा ऐतिहासिक सिम्रौनगढ : मधेसकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना

नवलपुर टुडे
२०८३ बैशाख १४ | बिहान ०८:०१ बजे

रौतहट,वैशाख १४। बाराको मध्य–तराईमा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल सिम्रौनगढ उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ११औँ शताब्दीको गौरवशाली कर्नाटक वंशको राजधानी रहेको यो क्षेत्र अहिले ‘उजाड र असरल्ल’ अवस्थामा छ ।

सन् १०९७ मा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाएका थिए । नान्यदेवपछि गंगासिंह देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव र अन्तिम राजा हरिसिंह देवले यहाँ शासन गरे। इतिहासकारहरू यस काललाई मिथिलाको ‘स्वर्णयुग’ मान्छन्, जहाँ कला, साहित्य र संस्कृतिको अभूतपूर्व विकास भएको थियो ।

सिम्रौनगढ कुनै समय मजबुत किल्लाले घेरिएको आधुनिक नगर थियो। यहाँका प्राचीन मूर्ति र वास्तुले विशिष्ट ‘कर्नाट शैली’ को कला झल्काउँछन्। हालैका उत्खननमा ७०० देखि ८०० वर्ष पुराना ऐतिहासिक इँटा र मध्यकालीन सहरी सभ्यताका अवशेषहरू फेला परेका छन्, जसले यसको प्राचीन अवस्थालाई पुष्टि गर्छ ।

यहाँको कङ्काली माई मन्दिर सबैभन्दा प्रसिद्ध धार्मिक गन्तव्य हो।प्राचीन दरबारका अवशेष र जगत् जङ्गले निर्माण गरेको राम मन्दिरले पर्यटकलाई लोभ्याउन सक्छ ।पुरातात्त्विक सम्पदाको खानी भएकाले यसलाई खुला सङ्ग्रहालयको रूपमा विकास गर्न सकिने देखिन्छ ।वीरगन्जबाट करिब २८ किलोमिटरको दूरीमा रहेको यो स्थल ऐतिहासिक रूपमा समृद्ध भए पनि हाल उपेक्षित छ । स्थानीय बासिन्दा दीपेन्द्र जयसवालले भने, ‘यस क्षेत्रलाई व्यवस्थित गर्न सके यो मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

ऐतिहासिक क्षेत्रको थप उत्खनन्, जीर्णोद्धार र प्रचारप्रसारका लागि स्थानीय र केन्द्रीय सरकारले विशेष ध्यान दिनु आवश्यक देखिन्छ। सम्पदाहरूको संरक्षण हुन सके सिम्रौनगढले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने निश्चित छ ।न्यूज बैक

कमेन्टहरु