बाँकेका १२ सामुदायिक वनमा डढेलो


नेपालगञ्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ । वन डढेलोका कारण वन्यजन्तुको बासस्थान सङ्कटमा पर्न थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।
एक सातायतादेखि सुरु भएको वन डढेलोका कारण करिब चार हजार हेक्टर क्षेत्रफल प्रभावित भएको जिल्लास्थित डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिए । उनका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ ।
डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल आवश्यक भएको उल्लेख गर्दै वन कार्यालयका योजना अधिकृत सुवेदीले बढ्दो खडेरीले भित्री क्षेत्रमा डढेलो झन बढेको उल्लेख गरे । “केही दिनभित्र पानी परेन भने वन डढेलो झनै बढ्ने खतरा छ”, उनले भने ।जिल्लामा ५० हजार हेक्टर वन क्षेत्र रहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिए । वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आइएको उल्लेख गर्दै उनले केही गलत व्यक्ति र आचरणका कारण वनमा डढेलो लागेको बताए ।
यसैबिच सिक्टा नहरमा फसेको चित्तल मारेर खाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूलाई वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार अनुसन्धान भइरहेकाले निजहरूको नाम, थर गोप्य राखिएको छ ।
त्यस्तै, स्थानीयले नहरमा फसेका चार वटा चित्तलको आज उद्धार गरेका छन् । बढ्दो खडेरीका कारण नहरमा पानी खान पुगेका चित्तल पानी खाँदाखाँदै नहरमा फसेका थिए । हरलाफाँटा सामुदायिक वनका उपभोक्ताले ती चित्तलको उद्धार गरी कार्यालयमा बुझाएका डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।























