इरानका विदेशमन्त्रीले ओमानका सुल्तानसँग गरे भेट


मस्कट । इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानको राजधानी मस्कटमा त्यहाँका सुल्तानसँग भेटवार्ता गरेका छन् । इरानको सरकारी प्रसारक संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार यो भेट आइतबार भएको हो । यो बैठक मस्कटको बाहिरी भागमा रहेको अल बरका प्यालेसमा सम्पन्न भएको बताइएको छ । छलफलका क्रममा दुवै पक्षले मध्यपूर्वको पछिल्लो अवस्था र अमेरिका–इजरायलसँग इरानबिच जारी तनाव अन्त्य गर्ने प्रयासबारे विचार–विमर्श गरेका थिए ।
ओमानले यस क्षेत्रमा लामो समयदेखि कूटनीतिक मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ । विशेषगरी अमेरिका र इरानबिच संवादको कूटनीतिक पुलका रूपमा ओमानले काम गर्दै आएको छ ।
साथै, ओमानले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजको दक्षिणी भाग नियन्त्रण गर्छ । जुन विश्व ऊर्जा आपूर्तिको लागि अत्यन्त संवेदनशील समुद्री मार्ग हो ।





















