इरानी विदेशमन्त्री अराघची पुनः पाकिस्तान फर्किने अपेक्षा

एजेन्सी
२०८३ बैशाख १३ | मध्यान्ह ०२:०१ बजे

इस्लामवाद । इरानका विदेशमन्त्री अब्बास अराघची ओमानको भ्रमण सम्पन्न गरेपछि पुनः पाकिस्तान फर्किने अपेक्षा गरिएको छ । त्यसपछि उनी रुस जाने कार्यक्रम रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।अराघची शनिबार इस्लामावादबाट फर्किँदा अमेरिका–इजरायलसँगको युद्धसम्बन्धी वार्तामा कुनै ठोस प्रगति हुन सकेको थिएन । उनले शहबाज शरिफलगायत पाकिस्तानी नेताहरूसँग छलफल गरेका थिए ।
वार्तामा प्रगति नभए पनि पाकिस्तानले मध्यस्थताको प्रयास जारी राख्ने बताएको छ । अराघचीसँग आएका प्रतिनिधिमण्डलका सदस्यहरू तेहरान फर्किएका छन् र सरकारसँग थप निर्देशन लिएपछि पुनः इस्लामावादमा उनलाई भेट्ने अपेक्षा गरिएको छ ।
यसबिच, इस्लामवादमा सुरक्षाका लागि राखिएका अवरोधहरू हटाइएको छ र सडकहरू पुनः खुला गरिएको छ । हालका लागि प्रत्यक्ष वार्ता स्थगित अवस्थामा रहेको छ ।






















