प्रबास

‘टाइम’ पत्रिकासँग मिलेर अम्बानीले भारतका १०० उदीयमान प्रतिभाको सूची निकाल्दै

एजेन्सी
२०८३ बैशाख १२ | बिहान ०८:०१ बजे

नयाँ दिल्ली। भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्सले विश्वप्रसिद्ध ‘टाइम’ पत्रिकासँग मिलेर एउटा नयाँ सुरुवात गर्दै छ। यसअन्तर्गत भारतका शीर्ष १०० उदीयमान नेताहरूको सूची सार्वजनिक गरिनेछ। रिलायन्स र टाइम पत्रिकाबिच भएको साझेदारीअनुसार अब ‘टाइम १०० नेक्स्ट इन्डिया’ रूपमा भारतका प्रभावशाली १०० युवा तथा उदीयमान व्यक्तित्वहरूको सूची प्रकाशन गरिनेछ।

मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले सेयर नियामक निकायमा पेस गरेको विवरणमा यो घोषणा गरिएको हो। यस सम्झौताअनुसार ‘टाइम’ले रिलायन्ससँगको सहकार्यमा आफ्नो ‘टाइम १०० नेक्स्ट’ फ्रेन्चाइजको नयाँ संस्करणका रूपमा ‘टाइम १०० नेक्स्ट इन्डिया’ सुरु गर्नेछ। यस संस्करणले आफ्नो काम र दूरदृष्टिमार्फत भविष्य निर्माण गरिरहेका भारतीय नेतृत्वको अर्को पुस्तालाई सम्मान गर्ने बताइएको छ।

रिलायन्स फाउन्डेसनकी संस्थापक तथा अध्यक्ष नीता अम्बानीले बिहीबार अमेरिकाको न्युयोर्कमा आयोजित ‘टाइम १०० गाला’ कार्यक्रममा उक्त घोषणा गरेकी हुन्। ब्लुमबर्ग, फोर्ब्स र टाइमलगायतका अन्य प्रतिष्ठित पत्रिकाहरूले समय-समयमा अर्बपतिहरूको सूची र फर्च्युन सूची जारी गरेझैँ, रिलायन्सले अब भारतका १०० उदीयमान व्यक्तिहरूको सूची तयार गर्न टाइमसँग सहकार्य गर्नेछ।

कार्यक्रममा नीता अम्बानीले भनिन्, ‘रिलायन्समा हामी आगामी पुस्ताको प्रतिभा, विचार र नेतृत्वलाई सशक्त बनाएर भारतको भविष्य निर्माण गर्न पूर्ण रूपमा समर्पित छौँ। टाइमसँग साझेदारी गर्न पाउँदा हामी निकै खुसी छौँ। यसै माध्यमबाट हामीले पहिलो पटक भारतको मुम्बईस्थित नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्रमा ‘टाइम १०० नेक्स्ट इन्डिया’लाई लिएर आउँदै छौँ।’

  • कसले बनाउनेछ १०० उदीयमान व्यक्तिको सूची ?

‘टाइम १०० नेक्स्ट इन्डिया’को सूची टाइम म्यागजिनका सम्पादकहरूद्वारा सङ्कलन गरिनेछ। यसमा राजनीतिक नेता मात्र नभएर कला, विज्ञान, व्यवसाय, खेलकुद, सामाजिक अभियान र अन्य क्षेत्रमा भारतको भविष्यलाई आकार दिने भारत र भारतीय मूलका १०० उदीयमान प्रतिभाहरूलाई सूचीबद्ध गरिनेछ।

कमेन्टहरु