घरमै राहदानी पुर्याउन प्रशासन र हुलाकबिच सहकार्य


काभ्रेपलान्चोक। घरमै राहदानीलगायत प्रशासनिक सामग्री पुर्याउन काभ्रेका नागरिकलाई सरकारी सेवा सहज र सुलभ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धुलिखेल र जिल्ला हुलाक कार्यालयबिच शुक्रबार सम्झौता भएको छ ।
सम्झौतापछि जिल्लास्थित प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा अब हुलाकमार्फत नागरिकको घरमै पुर्याइने भएको हो । सरकारी सेवा लिन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्ने लक्ष्यसहित गरिएको यो पहलले विशेषगरी वृद्धवृद्धा, अशक्त, व्यस्त नागरिक तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको जनाइएको छ । सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गरेमा राहदानीलगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पुर्याइने भएको हो ।
यो व्यवस्था लागू भएपछि नागरिकले राहदानी लिन लामो लाइन बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने तथा अनावश्यक समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । सरकारी सेवामा प्रविधि र व्यवस्थापन सुधारको उदाहरणका रूपमा हेरिएको यस कदमले सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमैत्री बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनकाअनुसार घरमै राहदानीलगायतका सेवा चाहनेले घरमै र सदरमुकामबाट लिने भए उल्लेख गर्न पारमा आग्रह गरेका छन् ।






















