बिश्व

स्ट्रेट अफ होर्मुजमा तनाव, कच्चा तेलको भाउ बढ्याे

एजेन्सी
२०८३ बैशाख ११ | मध्यान्ह १२:०१ बजे

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ । स्ट्रेट अफ होर्मुजमा इरान र अमेरिकाबिच तनाव चर्किएपछि शुक्रबार कच्चा तेलको भाउ बढेको हो । अमेरिका र इरान स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजलाई निशाना बनाउने खेलमा व्यस्त रहँदा तेल बजार त्रस्त बन्दा भाउ बढेको हो । शुक्रबार बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०६ डलर नाघेको थियो ।

शुक्रबार ब्रेन्ट क्रुडको भाउ १०६ डलर ८० सेन्टमा कारोबार भएको थियो, जुन बुधबारको बन्द मूल्यभन्दा झण्डै ५ प्रतिशतले बढी हो । बुधबार  दुई सातापछि पहिलो पटक ब्रेन्टको भाउले १०० डलर पार गरेको थियो ।

तनाव बढेसँगै अमेरिकी सेयर बजारमा पनि कमी आएको छ । बिहीबार कारोबार बन्द हुँदा एसएन्डपी ५०० परिसूचक शून्य ४१ प्रतिशतले घटेको थियो भने नास्डाक कम्पोजिट शून्य दशमलव ८९ प्रतिशत तल झरेको थियो । स्ट्रेट अफ होर्मुजबाट विश्वमा खपत हुने झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्छ । तर अहिले यो लगभग ठप्प अवस्थामा छ । इरानले जहाज आवतजावतमा नियन्त्रण गर्न खोजिरहेको छ भने अमेरिकाले इरानको समुद्री व्यापार रोक्न प्रयास गरिरहेको छ ।

इरानी डुङ्गाहरूले स्ट्रेटमा बारुदी सुरुङ राखेमा नष्ट गर्न अमेरिकी नौसेनालाई आदेश दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । इरानले सम्झौता नगरेसम्म स्टेट पूर्ण रूपमा बन्द रहने चेतावनी समेत उनले सामाजिक सञ्जालमा दिएका छन् । यसअघि इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले पानामा र ग्रिसको गरेर दुई विदेशी कार्गाे जहाज नियन्त्रणमा लिएको दाबी गरेको थियो ।

तर ग्रीसले आफ्ना जहाज सुरक्षित रहेको जनाएको छ । इरान युद्धबिच यस जलमार्गबाट जहाजको आवतजावतमा ठूलो कमी आएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सामान्य अवस्थामा दैनिक करिब १२९ जहाज आवतजावत गर्ने यस मार्गमा हाल निकै कम जहाज मात्र चलिरहेका छन् । बुधबार स्टेट अफ होर्मुजबाट आठ जहाज आवतजवत गरेका थिए । सोमबार र मंगलबार यसको संख्या क्रमशः १५ र ७ थियो ।  

कमेन्टहरु