बिश्व

अमेरिकाले आक्रमण रोकेपछि इरानले स्ट्रेट अफ होर्मुजमा नियन्त्रण बलियो बनायो

एजेन्सी
२०८३ बैशाख १० | मध्यान्ह ०४:०१ बजे

तेहरान । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण थप बलियो बनाएको छ । बुधबार बिहानैदेखि स्ट्रेटमा एकपछि अर्को गर्दै तीन वटा जहाजमा आक्रमण गरेको इरानले दुई जहाज आफ्नो कब्जामा राख्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने आक्रमण अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेपछि यो कदम आएको हो । अमेरिकी पक्षले युद्ध विराम लम्ब्याउने संकेत दिए पनि इरानले त्यसमा सहमति जनाएको स्पष्ट संकेत दिएको छैन । बरु इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई युद्धकै कार्य भन्दै आलोचना गरेको छ ।

 इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले पूर्ण युद्धविरामका लागि नाकाबन्दी हटाउनुपर्ने शर्त राखेका छन् । उनले होर्मुज पुनः खोल्ने सम्भावना नाकाबन्दी कायम रहँदासम्म असम्भव भएको बताएका छन् । 

यसबीच इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले लाइबेरिया र पानामाको झण्डा बोकेका दुई जहाज नियन्त्रणमा लिएर आफ्नो तटतर्फ लगेको जनाएको छ  । ती जहाजले आवश्यक अनुमति नलिई सञ्चालन गरेको र नेभिगेसन प्रणालीमा हेरफेर गरेको आरोप लगाइएको छ । तेस्रो जहाजमाथि पनि गोली प्रहार भएको भएपनि यसलाई अगाडि जान दिइयो । अमेरिकाले भने जहाज नियन्त्रणमा लिनुलाई “समुद्री डकैती”को संज्ञा दिएको छ ।

अमेरिकाले इरानविरुद्धको समुद्री नाकाबन्दी जारी राख्दै ३० भन्दा बढी जहाजलाई फर्कन निर्देशन दिएको जनाएको छ । साथै एशियाली जलक्षेत्रमा रहेका केही इरानी ट्यांकरहरूलाई पनि रोकेको बताइएको छ । यस अवस्थाले विश्व अर्थतन्त्रमा असर पारेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर शुरु गरेको युद्ध अन्त्य गर्नेतर्फ थोरै मात्रै प्रगति भइरहेको छ । स्ट्रेट अफ होर्मुज ठप्प जस्तै रहेको अवस्थामा विश्वभरका देशहरु दबाबमा परेका छन् । मध्यपुर्व, विशेषगरी इरान र लेबननमा हजारौंको ज्यान गइसकेको छ । शान्ति वार्ताका लागिपाकिस्तानले मध्यस्थता गरिरहेको भए पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।

इरानले आणविक कार्यक्रममाथिको प्रतिबन्ध हटाउने, क्षतिपूर्ति दिनुपर्ने र स्ट्रेट अफ होर्मुजमा आफ्नो अधिकार मान्यता दिने माग राख्दै आएको छ ।

कमेन्टहरु