बिश्व

इरान युद्धको प्रभाव : बेलायतमा पेट्रोल चोरीका घटना बढे

एजेन्सी
२०८३ बैशाख ८ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ । इरानमा जारी अमेरिका र इजरायली आक्रमणका कारण अन्तर्राष्ट्रिय इन्धन बजारमा आपूर्तिको अभाव र मूल्य वृद्धि भएको छ। यस्तो अवस्थामा बेलायतमा पेट्रोल चोरीका घटनामा व्यापक वृद्धि भएको देखिएको छ । नयाँ तथ्याङ्क अनुसार पेट्रोल चोरीका घटनाहरू गत वर्षको तुलनामा करिब ६२ प्रतिशतले बढेका छन् । 

इन्धन चोरी नियन्त्रणमा काम गर्ने कम्पनी पे माई फ्युलको तथ्याङ्कअनुसार बेलायतका पेट्रोल पम्पहरूमा यस्तो समस्या तीव्र रूपमा बढिरहेको छ । एक पेट्रोल स्टेसन सञ्चालकका अनुसार उनका पाँच वटा स्टेसनबाट मात्र पेट्रोल चोरीका कारण हरेक हप्ता करिब २ हजार पाउन्ड बराबरको नोक्सानी भइरहेको छ।  

इन्धनको मूल्य बढेसँगै सामान्य परिवारलाई कारमा पेट्रोल भर्न करिब १४ पाउन्ड र डिजेल ट्याङ्क भर्न करिब २७ पाउन्ड बढी खर्च लाग्न थालेको बताइएको छ । यसले उपभोक्ता र पेट्रोल पम्प व्यवसायी दुवैमा दबाब बढाएको छ । कर्मचारीमाथि दुर्व्यवहार पनि बढेको पेट्रोल पम्प सञ्चालकहरूले बताएका छन्। 

पहिले हप्तामा पेट्राेलको पैसा नतिरी भाग्ने गरेको १–२ वटा घटना हुने गरेका थिए । तर अहिले प्रत्येक स्टेसनमा यस्ता ५ वटा घटना भइरहेका जोस नाम गरेका एक जना खुद्रा पेट्राेल व्यापारीले भनेका छन् । उनका अनुसार केही घटनाहरू आकस्मिक भए पनि धेरैजसो चोरी पूर्वयोजनाबद्ध र सङ्गठित भएको देखिएको छ।

सीसीटीभी फुटेजहरूमा मोटरसाइकल, भ्यान र लक्जरी गाडीहरूले समेत इन्धन भरेर भुक्तानी नगरी भागेको देखिएको छ । केही घटनामा १५ पाउन्डभन्दा कम इन्धन चोरी भए पनि केहीमा १५० पाउन्डभन्दा बढीको इन्धन लिएर फरार भएको विवरण छ। 

पे माई फ्युलका अनुसार २०२५ को मार्चदेखि मार्च २०२६ को मार्चसम्म पेट्रोल हालेर पैसा नतिरी भागेको घटनाको औसत २ दशमलव १ बाट बढेर ३ दशमलव ४ मा पुगेको छ । जसलाई करिब ६२ प्रतिशत वृद्धि मानिएको छ । साथै, प्रत्येक घटनामा चोरी हुने रकम पनि ४६ प्रतिशतले बढेको बताइएको छ।

सरकारले इन्धन चोरी गर्नेहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ भने प्रहरीले पनि यसलाई नियन्त्रण गर्न सक्रिय कदम चालिरहेको जनाएको छ । विशेषज्ञहरूका अनुसार यो समस्या खासगरी आर्थिक रूपमा कमजोर पूर्व र दक्षिण–पूर्व लन्डन, ग्लास्गो, म्यानचेस्टर, लिड्स र बर्मिङ्घम जस्ता क्षेत्रहरूमा बढी देखिएको छ। 

 

कमेन्टहरु