विद्यालयमा स्मार्टफोनमाथि बन्देज लगाउँदै बेलायत सरकार


काठमाडौँ । बेलायतका विद्यालयहरूमा विद्यार्थीहरूले स्मार्टफोन प्रयोग गर्न नपाउने गरी कानुनी रूपमा प्रतिबन्ध लगाउने योजना सरकारले अघि सारेको छ । शिक्षा मन्त्री ब्यारोनेस ज्याकी स्मिथले हाउस अफ लड्र्समा बोल्दै सरकारको बालबालिकाको कल्याण तथा विद्यालय विधेयकमा संशोधन गर्दै विद्यालयका लागि स्पष्ट कानुनी दायित्व बनाइने बताएकी छन् ।
सरकारले यो व्यवस्था कन्जरभेटिभ पार्टीले माग गरेको पूर्ण प्रतिबन्धभन्दा फरक भएको दाबी गरेको छ । कन्जरभेटिभका छायाँ शिक्षामन्त्री लौरा ट्रोटले यो निर्णयलाई विद्यालय, अभिभावक र विद्यार्थीका लागि सकारात्मक कदम भन्दै स्वागत गरेकी छिन् ।
सरकारका अनुसार धेरैजसो विद्यालयहरूले पहिले नै स्मार्टफोन प्रयोग प्रतिबन्ध गरिसकेका छन् । नयाँ कानुनले ती अभ्यासलाई थप मजबुत बनाउने र विद्यालयहरूले यसलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताइएको छ । साथै, विद्यालय निरीक्षण गर्ने संस्था अफस्टेडले पनि अप्रिलदेखि मोबाइल नीति निगरानी गर्ने बताइएको छ ।
विद्यालयहरूमा फोन सुरक्षित राख्न लकर वा विशेष पाउच प्रयोग गर्ने जस्ता उपायहरू केही संस्थाले अपनाइसकेका छन् । तर शिक्षक सङ्घहरूले भने यो परिवर्तन सफल बनाउन सरकारबाट थप आर्थिक सहयोग आवश्यक हुने बताएका छन् । उनीहरूका अनुसार फोन राख्ने सुरक्षित संरचनाको लागि विद्यालयलाई बजेट आवश्यक छ ।
शिक्षक सङ्घका महासचिव पेपे डिुइआसियोले विद्यालयमा प्रतिबन्ध मात्र पर्याप्त नभएको भन्दै सामाजिक सञ्जाल र स्मार्टफोनको अत्यधिक प्रयोगले विद्यालय बाहिर पनि ठुलो समस्या सिर्जना गरिरहेको उल्लेख गरेका छन्।
सरकारले भने यो विधेयकलाई बालबालिकाको सुरक्षा सम्बन्धी दशककै सबैभन्दा ठुलो कानुनमध्ये एक भएको दाबी गरेको छ । साथै, यसले कक्षाकोठामा अनुशासन सुधार र सिकाइ उपलब्धि बढाउने अपेक्षा पनि गरिएको छ।






















