भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखौँ आम्दानी लिन्छन् गौचन


म्याग्दी, वैशाख ८। जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ ।६० वर्षीय गौचनले विसं २०७४ मा घुम्तीकोषको सहुुलियत ब्याजदरको ऋण रु ३८ हजार १५० र रु १५ हजार बीउपुजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो ।
हाल ७० खसीबोका, पाठापाठी र माउबाख्रा छन् । उक्त फार्मबाट वार्षिक १५ भन्दा बढी खसीबोका र उत्तिकै सङ्ख्यामा पाठापाठी बिक्री हुुन्छ । मासुका लागि खसीबोका मासुु र पाल्नलाई पाठापाठी किन्न ग्राहकहरु गोठमै आउँछन् । पाठापाठी र खसीबोकाको उमेर तथा तौलको आधारमा फरक–फरक मूल्यमा बिक्री हुने गरेको छ । घुम्तीगोठमा परम्परागत भैँसीपालन व्यवसाय छाडेर गौचनले बाख्रापालन सुरु गर्नुुभएको थियो ।
बाख्रापालनबाट भएको आम्दानीले घरव्यवहार चलाउन सहज भएको गौचनले बताउनुभयो । उहाँलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आउनुभएको छ । बाख्रापालनबाट भएको आम्दानीले कान्छा छोरा लिलेन्द्र गौचनलाई पढ्नका लागि अष्टे«लिया पठाउनुभएको छ । वैदेशिक रोजगारीका लागि केही वर्र्ष पोर्चुुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रापालनमा साथ दिनुभएको छ ।
वैदेशिक रोजगारीमा सेचोजस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रापालनमा साथ दिएको सुुरेन्द्रले बताउनुभयो । “विदेशमा गर्ने मेहनत र बगाउने श्रम पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छ”, उहाँले भन्नुभयो, “विदेशको अनुुभव पनि गरियो । अबै यतै व्यवस्थित रुपमा बाख्रापालन गर्ने सोचाइमा छु ।”
बाख्रापालनका लागि गौचनले लमसुङ र मरेनी दुई ठाउँमा गोठ बनाउनुभएको छ । चरनका लागि दुई÷दुई महिनामा लमसुङ र मरेनीमा गोठ सार्ने गर्दै आउनुभएको छ । खोर निर्माणका लागि पछिल्लोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु एक लाख ५० हजार सहयोग गरेको गौचनले बताउनुभयो ।






















