पार्कलाई अफिस बनाउँदैछ दुबई


काठमाडौँ। दुबईस्थित दुबई नगरपालिकाले सार्वजनिक पार्कहरूलाई नयाँ ढङ्गले प्रयोग गर्ने उद्देश्यसहित “वर्क फ्रम पार्क” नामक पहल सुरु गरेको छ ।
यस योजनाले हरियालीयुक्त खुला स्थानलाई केवल मनोरञ्जन वा घुमफिरका लागि मात्र नभई आधुनिक कार्यस्थलका रूपमा पनि विकास गर्ने लक्ष्य राखेको छ । बदलिँदो विश्वव्यापी काम गर्ने शैली, विशेष गरी रिमोट र हाइब्रिड वर्कलाई ध्यानमा राख्दै यो अवधारणा अघि सारिएको हो ।यो परियोजनाअन्तर्गत पार्कभित्र नै काम गर्न मिल्ने व्यवस्थित क्षेत्रहरू निर्माण गरिनेछ, जहाँ डेस्क, आरामदायी सिट व्यवस्था, इन्टरनेट सुविधा र कामका लागि आवश्यक आधारभूत पूर्वाधार उपलब्ध हुनेछ ।
यसले कार्यालयमै बसेर काम गर्नु पर्ने परम्परागत अवधारणालाई परिवर्तन गर्दै प्रकृतिको बीचमा बसेर काम गर्ने नयाँ अनुभव दिने अपेक्षा गरिएको छ । साथै पार्कको मनोरञ्जनात्मक वातावरणलाई जोगाउँदै काम र आराम दुवैलाई सन्तुलनमा राख्ने योजना बनाइएको छ ।पहिलो चरणमा यो सुविधा सन २०२६ मे महिनामा अल बर्श पन्ड पार्कमा सुरु हुने छ । त्यसपछि अन्य पार्कहरूमा पनि क्रमशः विस्तार गर्ने योजना छ ।
पार्कको प्राकृतिक सौन्दर्य र सार्वजनिक उपयोगिता दुवै कायम रहोस् भनेर प्रत्येक स्थानलाई स्थानीय आवश्यकता र वातावरणअनुसार डिजाइन गरिनेछ । यस परियोजनाका लागि ग्रुप आमना र लेट्सवर्कसँग सहकार्य गरिएको छ । ग्रुप आमनाले यस परियोजनका लागि आधुनिक मोड्युलर बनाउने प्रविधि प्रयोग गरी संरचना तयार गर्नेछ, जसले छिटो निर्माण, कम फोहोर र वातावरणमैत्री डिजाइन सुनिश्चित गर्नेछ ।
त्यस्तै लेट्सर्कले भने डिजिटल प्रणालीमार्फत प्रयोगकर्तालाई कार्यस्थल बुकिङ, हाट डेस्क, बैठक कोठा र अन्य क्रिएटिभ स्पेसहरूको पहुँच उपलब्ध गराउनेछ। लेट्सवर्कका सह संस्थापक ओमार अल्म्हेइरीले यो पहललाई भविष्यको कार्यशैली परिवर्तन गर्ने महत्त्वपूर्ण कदम भन्दै यसले मानिसहरूलाई परम्परागत अफिसभन्दा बाहिर पनि उत्पादक र प्रेरणादायी वातावरणमा काम गर्ने अवसर दिने बताएका छन्।






















