प्रबास

कंगोले अमेरिकाबाट डिपोर्ट गरिएका पहिलो समूहलाई भित्र्यायो

एजेन्सी
२०८३ बैशाख ६ | मध्यान्ह ०५:०१ बजे

किन्शासा । डिआर कंगोले अमेरिकाबाट डिपोर्ट गरिएका १५ जनाको पहिलो समूहलाई स्वीकार गरेको छ । ती व्यक्तिहरू दक्षिण अमेरिकाका विशेषगरी कोलम्बिया र पेरुका नागरिक भएको बताइएको छ ।यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रवासन माथि कडा नियन्त्रण गर्ने नीतिअन्तर्गत उठाइएको हो । यो समूहलाई अस्थायी रूपमा मात्र राखिने र उनीहरूको स्वागत, सहयोग तथा हेरचाहको खर्च अमेरिका स्वयंले व्यहोर्ने कंगोले स्पष्ट पारेको छ ।

राजधानी किन्शासास्थित सरकारले यस कार्यक्रमलाई स्थायी पुनर्वास नभएर अन्तर्राष्ट्रिय सहकार्य र मानव मर्यादाप्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गरेको छ । तेस्रो देशका आप्रवासीलाई अस्थायी रूपमा स्वीकार गरिएको जनाएको छ । यसअघि अमेरिकाले घाना, दक्षिण सुडान र इस्वातिनीजस्ता अफ्रिकी राष्ट्रहरूमा पनि यस्तै डिपोर्टी पठाइसकेको छ ।

डिआर कंगोका अनुसार, यी व्यक्तिहरूलाई छोटो अवधिको अनुमति अन्तर्गत देशमा प्रवेश दिइएको छ । तर उनीहरूको बसाइको अवधि वा अन्तिम गन्तव्यबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

यसैबिच, अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिको प्रतिवेदन अनुसार सन् २०२६ जनवरीसम्म तेस्रो देश डिपोर्टेसन कार्यक्रमहरूमा ४ करोड डलरभन्दा बढी खर्च भएको अनुमान गरिएको छ, यद्यपि कुल लागत स्पष्ट छैन ।
यस घटनाक्रमसँगै अमेरिका र कंगोबिच खनिज स्रोतसम्बन्धी सहकार्य पनि अघि बढिरहेको छ ।

कंगोमा कोबाल्ट, लिथियम, ट्यान्टालम र कपरजस्ता महत्त्वपूर्ण धातुहरूको ठुलो भण्डार रहेको छ । साथै, अमेरिकाले कङ्गो र रुवान्डाबिच शान्ति सम्झौता गराउन पनि भूमिका खेलेको छ, यद्यपि यसको कार्यान्वयन अझ चुनौतीपूर्ण रहेको बताइएको छ । 

कमेन्टहरु