गलकोट नगरपालिका क्षेत्रका तीन सडक र वडा कार्यालय भवन निर्माण एकसाथ


बागलुङ । बागलुङको गलकोट नगरपालिका क्षेत्रका तीनवटा छोटा सडक र वडा कार्यालय भवन एकसाथ सम्पन्न गरिएको छ । गलकोट–३ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको छ भने झण्डै साढे दुई किलोमिटर सडक कालोपत्र र ढलान गरिएको हो ।
उक्त भवन तथा तीन सडक एकमुष्ट सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङको आर्थिक सहयोगमा निर्माण गरिएका हुन् । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले वडा कार्यालय नयाँ भवन, गलकोतघर जाने सडक, नरेडाँटी सडकलगायतका पूर्वाधार समयमै सम्पन्न भएको बताए । उनले निर्माण सम्पन्न भएका सडक तथा वडा कार्यालयले स्थानीय तहबाट प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त गरे ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयअन्तर्गत गलकोट क्षेत्रका तीन छोटा सडक तथा वडा कार्यालय निर्माण सम्झौता मितिमै सम्पन्न गरिएको हो । गलकोट–१ र २ नरेठाँटी जोड्ने एक किमी सडक कालोपत्र, वडा नं ३ मा अवस्थित कोतघर जोड्ने एक किमी सडक कालोपत्र तथा वडा नं ५ हरिचौर क्षेत्रमा ३०० मिटर सडक ढलानलगायतका कार्य एउटै बजेटबाट सञ्चालन गरिएको हो । तीन सडक तथा वडा कार्यालय भवन रु सात करोड ६५ लाख ८४ हजारको लागतमा निर्माण गरिएको कार्यालयका इन्जिनियर गोपिचन्द्र आचार्यले जानकारी दिए।






















